![बुढा सुब्बा](https://magarstudiescenter.files.wordpress.com/2019/04/e0a4ace0a581e0a4a2e0a4be-e0a4b8e0a581e0a4ace0a58de0a4ace0a4be.jpg?w=616)
भर्खरै धरानको बूढासुब्बाको बारेमा फोटो फिचर राखेको सन्दर्भलाई जोडेर यी बूढासुब्बा को हुन् भन्ने बारे एउटा लेख साभार गरेको छु। यसमा लेखकले तर्क गरेका छन् यी व्यक्ति पृथ्वीनारायण शाहका फौजले खेदी खेदी मारेका लिम्बूवानको राष्ट्रियताको प्रतिक बूढा मन्त्री बुद्धिकर्ण नै थिए।
कविताराम श्रेष्ठ
पूर्वको शहर धरानको विजयपुर आएपछि तपाईंले बुढासुब्बाबारेमा अनेक लोकआहनहरु सुन्न पाउनु हुनेछ। एउटा समाधीलाई देखाएर तपाइका अगुवाले भन्नेछ – ‘हेर्नोस् त्यहाँ बुढासुब्बा समाधिस्थ छन्। यतापट्टी उत्तरतिर हेर्नुहोस् उनका भान्जा र बहिनी पनि समाधिस्थ छन्।’ तपाइलाई एउटा उत्सुकता जाग्ने छ – नाम सुन्दा मान्छेको जस्तो लाग्ने तर देउता जस्तो गरी पुजिने अनि हिन्दु तरिकाले पुजिने, तर हिन्दु परम्परामा कतै नदेखिने समाधिस्थल पुजिने। अरु मन्दिरमा त बाहुन पूजारी हुन्छन् यहाँ भने मगर।’
यी बुढासुब्बा को थिए ?
तपाईंले जवाफ पाउनु हुनेछ -यिनी एउटा सिद्धबाबा थिए जो विजयपुरमा शिकार खेली हिँड्थे। यसो पनि भनिन्छ कि उनी यहाँ पाण्डवहरुको यज्ञ हुँदा वेदीरक्षकको रुपमा थिए।
यहाँका व्यक्तिहरुले तपाईंलाई एकदमै राम्रोसंग पोलिएको साह्रो र चिल्लो मटुंग्रा देखाउनेछन् र भन्नेछन् – ‘ल हेर्नोस् अझै बुढासुब्बाका मटुंग्रा तपाईं पाउनुहुन्छ। अझ एक थरी हैन दुई थरीका मटुंग्रा पाउनुहुन्छ। अर्को थरी जो केही सानो देखिन्छ त्यो भान्जाले चलाउने गरेका मटुंग्रा हुन्।’तपाईंको अगुवाले थप्नेछ – ‘यी मटुंग्रा बारी खन्दा अझै पाइन्छन् र यसलाई यहाँका जनताले पेट सम्बन्धी रोगहरुको लागि औषधीको रुपमा सेवन गर्दछन्। यसमा बुढासुब्बाको सत् छ।’
बुढासुब्बाको मन्दिर छेवैको बाँसझ्याङलाई औंलाउँदै तपाईंलाई उसले भन्नेछ – ‘ल हेर्नोस् त्यो झ्याङका बाँसका टुप्पा छैनन्। यी सव उहिले नै बुढासुब्बाले धुनुषबाणले नै काटेका थिए। त्यसताका यहाँ धेरै काग आउँथे रे र यीनै टुप्पामा बस्थे अरे। उनले कागलाई बस्न नदिन टुप्पा काटेका अरे। भन्छन् आजसम्म कागहरु विजयपुरमा आउँदैनन्। तर भन्दाभन्दै विजयपुरमा काग देखिने काकताली पर्न सक्छ। यसमा बुढाहरु जिद्दी गर्छन् कि यहाँ काग आएपनि कराउन भने कराउदैन।’
तपाइँले टुप्पा नभएका यी बाँसका बारेमा अरु कुराहरु पनि सुन्न पाउनु हुने छ जस्तै –
१. बुढासुब्बाले आफ्ना शिष्यहरुलाई धनुषबाण चलाउन सिकाउँदा यीनै टुप्पाहरुलाई निशाना बनाउन लगाउँथे र काटिए ।
२. बुढासुब्बा एक दिन यसै ठाउँमा बाँसबाट बनेका धनुषबाण राखेर अलप भएका थिए र त्यही धनुष पलाएर यी बाँस उम्रिए।
३. उहिले नै पाण्डवहरुले यज्ञ गर्न जुन लिंगहरु गाडेका थिए उनै बाँसहरु पलाएर यी बाँस भए। इत्यादि।
तपाईंको अगुवाले थप्नेछ – ‘यस्तो बाँस कहीं उम्रदैन। यसलाई सिर्फ वर्षमा एकपल्ट चण्डिपूर्णेका अघिल्लो दिन मात्र काटिन्छ। तर कहीं सारिदैन। यसरी काटेको बाँस अन्त लान दिइँदैन र अरु काममा पनि चलाइन्न।’
तर तपाईं आफैलाई अचम्म लाग्ने छ कि साँच्चै नै ती बाँसहरुका टुप्पा छैनन्। एउटा कुरा पाउनुहुनेछ कि ती बाँसका तामामा टुप्पा हुन्छन् तर छिप्पेर गएपछि टुप्पाहरु सुकेर जान्छन्।
तपाइँले राम्ररी यी सव कुराहरुका अवलोकन गर्नै पाउनुभएको हुन्न कि तपाईंका अगुवाले अरु उक्तिहरु थप्नेछ- ‘यी बुढासुब्बाले यस डाँडाबाट औलो र श्यालहरु भगाए। त्यसैले आजसम्म यहाँ औलो लाग्दैन र श्याल पनि कराउँदैन।’
यहाँका बाँसका टुप्पाहरु किन सुकेर जान्छन् वैज्ञानिक कारणहरु के छ खोज्न बाँकी नै छ। तर काग र श्याल किन यता देखिन्दैन भन्ने सम्बन्धमा भने लक्ष्मीप्रसाद आचार्य आफ्नो पुस्तक देशको ढुंगा देशको माटोमा भन्नुहुन्छ – यो छुट्टै राज्य रहेको अवस्थामा यहाँ तोप बन्दुकहरु पड्काइन्थ्यो र यीनैका शब्दबाट त्रसित भएर काग र श्यालहरु आउँदैनथे। त्यसै वेलाका उपज हुन् यी कथाहरु।
प्रशंग यही हो कि यसरी लोकजीब्रोमा एउटा अलौकिक मानिएका यी पुरुष यस विजयपुर क्षेत्रमा धुमधामले पुजित छन्। दिनहुँ यहाँ बली चढाइन्छ र बैशाखपूर्णिमामा त मेलै लाग्छ। यहाँ बली भएका जन्तुहरुको कलेजो पढेर पूजारीहरुले पूजा ल्याउने घरका ग्रहदशा भनिदिने गर्दछन्। त्यस्तै हाँस र कुखुराका फुलहरु फोरेर भविष्यसमेत बताई दिन्छन्।
यसरी धुमधामसंग पुजिने यी सिद्धबाबाको थिए भन्ने कुरा अहिलेसम्म विवादकै कुरा छ। कहीं कतै प्रमाणिक तथ्य मिलेको छैन। कसैले यीनलाई युगौं परानो बताउँछन् भने कसैले केही शताव्दी यतैका भनी बताउँछन्।
केही किम्वदन्तिहरुले यस समाधीलाई यलम्वहाङको समाधी हुन् भनी भन्दछन्। यलम्वहाङलाई एकलब्यको रुपमा लिने किमवदन्तिहरु पनि पाइन्छन्। लक्ष्मी आचार्यले यीनै एकलब्यको समाधीका रुपमा बुढासुब्बाका समाधीलाई लिनुभएको छ। उहाँका अनुसार द्वापरयुगमा एकलब्य द्वारकामा लडाई गर्दा कृष्ण र बलरामद्वारा परास्त भई ज्यान जोगाउन द्वारकाको समुद्रमा हामफालेर बेपत्ता भएका थिए र बुढेसकालमा मर्न भनी उनी आफ्नै जन्मभूमी हिमालयतर्फ आएका थिए। रुद्राक्षारण्य जस्तो परमपुण्य तपोभूमी आइपुगेपछि उनले यहाँ नै शेष जीवन बिताए र समाधिस्थ भएका थिए। आचार्यज्यू यो पनि थप्नुहुन्छ कि रुद्राक्षारण्य महात्म्यमा केरलका एउटा पतित बाहुन रुद्राक्षारण्यमा आई मरे र उनको लाश मुनी एकदाना रुद्राक्ष परेको हुँदा उनले रुद्रलोक प्राप्त गरे र उनको समाधिस्थल यहाँ नै भएको प्रशंग आउँदछ। यो उल्लेख भन्दा पर गएर कुनै यस्ता समाधी तथा यी सिद्धपुरुषका जीवनीसंग मिल्नेखालका प्रशंग पुराण तथा ग्रन्थहरुमा कहीं कतै उल्लेख भएको पाइंदैन। यत्तिसम्म कि विजयपुरमै प्राप्त अति प्रचलित भताभुंगेको कथामा पनि यी उल्लेख आउँदैनन्। यसबाट स्पष्ट छ कि बूढासुब्बा भन्ने व्यक्ति महाभारत तथा भताभुंगेका कालका थिएनन्। धेरै पछिका कुनै सिद्धबाबा हुनसक्छन्। रुद्रक्षारण्यमा उल्लेखित एकलव्यका कथा र पतित बाहुनको समाधिको प्रशंग यससंग कदाचित मिल्दैन।
यस क्षेत्रको अध्ययन गर्ने योगेन्द्र तिमििल्सना र गोपाल राज जोशी ले भनेका छन् कि यिनी शाहबंशका कुनै राजाबाट सुब्बा दर्जा पाएका एउटा बीर योद्धा थिए। यस कुरालाई उहाँहरुले कुनै ऐतिहासिक प्रमाण ठोस रुपमा पेश गर्नुभएको छैन र आफ्नो आधार किम्वदन्ति हो भन्नु भएको छ। वस्तुतः यस प्रशंगको किम्वदन्ति पनि पाइएको छैन। वस्तुतः शाहबंश पछिका यस भेगमा इतिहास एकदमै स्पष्ट छ। इतिहासले कुनै यस्ता असाधारण पुरुषको संकेत िदंदैन।
यो सिद्धपुरुष सेनकालीन व्यक्ति थिए भने कुन व्यक्ति थिए त भन्ने एउटा प्रश्न उठ्छ। इतिहास यसबारेमा पनि मौन छ। इतिहासकार एफ। हेमिल्टनले यिनीलाई सेनबंशका अन्तिम राजाका अन्त्तिम मन्त्री बुद्धिकर्ण रायसंग तादात्म्य गराएका छन्।
एफ हेमिल्टनको यो तादात्म्यलाई हालै खेवालिम्बु परिवारद्वारा प्रकाशित पुस्तक ‘मानव उत्पति र खेवावंश’ मा वंशावली संकलक तथा लेखक लोकेन्द्र बहादुर तिगेलाले४ पूर्णतः असहमत जनाई केही आकर्षक प्रमाणहरु सहित बुढासुब्बा बुद्धिकर्ण राय नभई धनकुटा जिल्लाको हातिखर्क गाउँका तिगेला खेवाबंशका पूर्वज मुक्तिहाङका ९ औं िपंढीका पुरुष इल्लीहाङका जेठी श्रीमतिबाट वि.सं. १८२२ मा जन्मिएका ७ भाई मध्येका ज्येष्ठ पुत्र भर्तवीर हुन् भनेका छन्। साथै उनी बच्चैकालदेखि धनुर्धर थिए र एकपल्ट ५ फुट लामो बाँसबाट दुइवटा धनु बनाई एउटा घरमा राखेर अर्को आफूसंग लिएर डुिक्संग र बक्सिंग नामका मगरहरु साथमा विजयपुरसम्म शिकार खेल्न आएका थिए तर त्यहाँ उनका निसाना चुकेछ र अव मेरो समयको अन्त्य भइसकेछ भनी धनु भूईंमा राखी समाधिस्थ भए भन्ने उल्लेख त्यसमा परेकाछन्। अन्तमा भर्तवीर नै बुढासुब्बा हुन् भनी किटान गर्न केही प्रमाणहरु पनि दिइएका छन्। जसमा भर्तवीरका छैटौं पींढीका सन्तान र सहयोगी मगरहरुका सन्तान अद्यापि हात्तिखर्कमा रहिआएका दुई धनुमध्ये घरमा छोडी आएको धनु अझै यथावत भएको मन्दिरमा मगर पूजा रही आएको आदि प्रमूख छन्।
यस पुस्तकमा बुद्धीकर्ण रायको नाम अतिनै सम्मानपूर्वक लिइएको छ। त्यसैमा दिइएका ऐतिहासिक तथ्यहरु जो बढो होशियारीपूर्वक प्रस्तुत गरिएका छन् मा समेत बुढासुब्बाको प्रख्यातिसंग दाँजोमा पुग्न सक्ने व्यक्ति बुद्धिकर्ण मात्र देखिन्छ। त्यसमा दिइएका दुवैको समय बुद्धिकर्णको मृत्यु वि।सं। १८३१ र भर्तवीरको जन्म वि.सं. १८१२ पनि समकालीन नै देखिन्छन्। त्यति हुँदा हुँदै पनि बुद्धीकर्णलाई बुढासुब्बा नमानी भर्तवीर जसको व्यक्तित्व त्यो उचाइमा देखिन्दैन लाई बुढासुब्बा भनेर मान्नु एउटा विचारनीय कुरा छ। साधरण हिसावमा हेर्ने हो भने यदि बुढासुब्बा एउटा इतिहासपुरुषै थिए भने बुद्धीकर्ण नै त्यो व्यक्ति थिए कि भन्ने प्रक्कल्पना चािहं अवश्यै बलियो प्रतित हुन्छ।
‘सुब्बा’ भन्ने शव्द हाल लिम्बूहरुले आफ्ना जाती जताउन प्रयोग गर्ने गरेका भएतापनि त्यसवखत यो शव्द सेनराजाहरुद्वारा आफ्ना अधिकारीहरुलाई दिइने पदको नाम थियो। यस्ता शव्दहरुमा राय सुभा चौतरिया दिवान आदि पर्दछन्। ‘राय’ शव्द पछि अपभ्रंश भई ‘राइ’ र भए भने ‘सुभा’ चािहं ‘सुब्बा’ भए। त्यस पुस्तककै अनुसार भर्तवीर सरकारी ओहदाका व्यक्ति नभई एउटा सिद्धपुरुष थिए। तर बुद्धीकर्ण भने चौतरिया अर्थात प्रधानमन्त्री नै थिए।
एउटा काल्पनिक व्यक्ति अलौकिक पुरुष बन्न पुग्नु कुनै अस्वाभाविक हुन्न किनभने त्यसको आधार नै अन्धविश्वास रहेको हुन्छ। तर यहाँ त प्रशंग इतिहासपुरुषको छ जो युगौं पुरानो समयको नभई सीर्फ २०० बर्ष पहिलेका व्यक्ति थिए। यदि मन्त्री बुढा बुद्धिकर्ण राय नै ती अलौकिक पुरुषको रुपमा पुिजंदै आएका बुढासुब्बा हुन् भने यसका कारणहरु के होलान् त प्रशंग केही चाखलाग्दो नै होला।
बुद्धिकर्ण राय बिचीत्र रायका छोरा र कामदत्तसेनका मन्त्री थिए। कामदत्तसेनको बुद्धिकर्णसंग राम्रो सम्बन्ध थिएन। यो झगडा पुख्र्यौली थियो। बुद्धिकर्णका बाबु बिचीत्र रायले त राजालाई भोटतर्फ नै भगाएका थिए र पछि उनी फर्केर आएपछि यो राज्य दुई टुक्रामा विभाजित भएको थियो। विभाजित देशमा कामदत्तसेन मोरङ विजयपुर का राजा भए। यस घटना पछि बिचीत्र रायको मृत्यु भयो र उनका छोरा बुद्धिकर्ण मन्त्री भए। बृद्धिकर्ण बाबुभन्दा कमका थिएनन्। राजालाइ देशै छाडेर इस्टइण्डिया कम्पनीका शरणमा सहायतार्थ जानपर्ने वाध्य पारिदिए। तर कम्पनी सरकारबाट राजालाई कुनै सहायता मिलेन र आफैले केही सैन्य लिई विजयपुरमा हमला गरे। उनी राजा नै थिए। अतः धेरै घमासान युद्ध हुनैपरेन। उनलाई फेरि देशका राजा स्वीकार गरियो। तर कामदत्तसेनले आफ्नो इवी साध्न बुद्धिकर्ण रायका भाई बुद्धकर्णलाई छलकपट गरी मारिदिए।
बुद्धिकर्णलाई यो सह्य थिएन र उनले केही दिन गुप्तबास बसी आफ्नो मान्छेका सहायताले छलकपट गरी राजालाई नै मारिदिए। त्यसपछि बुद्धिकर्णले कामदत्तसेनकै काका रघुनाथसेनलाई राजा वनाए। उनी पनि बुद्धिकर्णसंग अति नै डराउँथे र उनलाई सँधैको लागि खतम गर्न अंग्रेजहरुको सहायता मागे। पछि यसको भेद खुलेपछि राजाले आफै भाग्न पर् यो। बुद्धिकर्णले अव पृथ्वीनारायण शाहद्वारा लखेटिएका चौदण्डीका राजा कर्णसेनलाई नाम मात्रका राजा वनाए र आफू ‘राजभार समर्थ’ भन्ने उपाधी ग्रहण गरी इसं १७७० मा विजयपुरका हर्ताकर्ता भए। त्यसै समयमा अभिमान सिंहको नेतृत्वमा गोर्खालीहरुले विजयपुर माथि एक्कासी आक्रमण गरे। राजा कर्णसेनलाई यसको छनक भएपनि मध्यवर्षा भएको र कोशीमा भेल पनि आइरहेको हुँदा त्यस्तो आक्रमण होला भन्ने सोच बुद्धिकर्णलाई हुँदै भएन। प्रतिरक्षाको लागि वन्दोवस्त हुन नपाएकोले उनलाई भागेर भारत पस्न पर्यो। राजा त पहिलेनै आफ्ना सन्तानलाई आक्रमणबाट बचाउन भारत पसिनै सकेका थिए।
आफ्नो हातबाट राज्य गएता पनि बुद्धिकर्णले इष्टइण्डिया कम्पनीका सहायताबाट राज्य फर्काउने चेष्टा गरे। उनी आफ्ना जनताबाट पनि सहायता पाउने आशाले वेलावेलामा विजयपुरमा लुकिछिपी आउथे राज्य पल्टाउन सांगठनिक कार्यहरु गर्दथे। गोर्खालीहरुले यो कुरा थाहा पाए र उनलाई मार्ने चाल चले। संगठन कार्यमा सघाउ पुर् याउन र उनलाई भूमीगत आश्रय दिन स्थानीय जनता सँधै तत्पर थिए। सेनबंशका पूजारी जाती मगरहरु पनि उत्तिकै श्रदाकासाथ उनका पछि थिए।
यसै सन्दर्भमा भन्न सकिन्छ कि विदेशीहरुका हातबाट आफ्नो भूमी फिर्ता गर्नको लागि यस्तो खतरापूर्ण काममा बहादुरीका साथ खटेका देखी स्थानीय जनता उनीसंग अति नै प्रभावित थिए। यो व्यक्ति निश्चयनै सवै किरातजातिको लागि एउटा आदर्श पुरुष थिए र समग्रमा उनी स्थानीय जनताका प्रिय नेता थिए। आज एक ठाउँमा देखिने र भोलिपल्ट कैयौं कोसपर अर्को ठाउँमा देखिने व्यक्ति माथि निश्चय नै अलौकिक शक्तिहरुको कल्पना श्रद्धाले पनि जोडदै गएको हुनुपर्छ। जीवितै अवस्थाका यस्तो आदर्शपुरुषलाई कालान्तरको जनजीब्रोले कतिसम्म रंगाएर महान पुरुष बनायो होला कल्पन सजिलो नै छ।
बुढा बुध्दिकर्णले राज्य पल्टाउन भित्रभित्रै संगठन गर्दै िहंडेका कुरा गोर्खालीहरुले थाहा पाए। उनीहरुले ग्रामप्रमुखहरुका घरमा ढुकेर एक दिन पक्रे। उनी जेलमै मरे। खेवा लिम्बू परिवारका उपरोक्त पुस्तकमा लेखक लोकेन्द्र बहादुर तिगेलाले त उनलाई भरुवा बन्दुकले घटनास्थलमै मारेको भनी बर्णन गरेको छ। जेहोस् बुढा बुध्दिकर्णको अन्त्यको बारेमा इतिहासले यस्तै भनेको छ।
बुध्दिकर्ण नै बुढासुब्बा हुन् भन्ने कुरा इतिहास साक्षी छ भन्न मैले खोजेको होइन। तर कथंकदाचित उनी नै बुढासुव्वा हुन् भने यो पनि हुन सक्छ कि उनका लासलाई विजयपुरकै डाँडामा गाडेर अन्त्यष्टी गराइयो र त्यही ठाउँमा उनका भक्त मगरहरुले समाधीस्थल बनाइ पूज्न लागेका हुन्। यो मेरो अड्कलकै कुरा हो।
विजयपुरको सम्पूर्ण इतिहासमा बुद्धिकर्ण राय सवैभन्दा शक्तिशाली बुद्धिमानी र योग्य किरात प्रतिनिधि थिए। उनी सम्पूर्ण लिम्बूवानको राष्ट्रयताको प्रतिक थिए। उनी बुढा भएपनि कहिल्यै नथाक्ने नहार्ने अथक योद्धा थिए। किराँतहरुका आदर्शपुरुष थिए। प्यारो सुब्बा थिए। बुढासुब्बा। यसै हिसावमा पनि कुनै किरातजातीको ऐतिहासिक व्यक्ति नै बुढासुब्बा थिए भने त्यो व्यक्ति बुढा मन्त्रि बुद्धीकर्ण नै थिए भन्ने मेरो ठोकुवा छ।
July 28th, 2009 | Category: पाहुनाको पालो | |