घर्ती मगर, रण प्रसाद. (२०६२). वंशावली. काठमाडौँः धनमाया र सिर्जना घर्ती मगर ।
टिप्पणीः प्रतिभा पुन
रण प्रसाद घर्ती मगर वंशावली (२०६२) को आयामगत स्परुप मुखपृष्ठ सहित ७० पृष्ठको छ । यस पुस्तकमा १६ वटा शीर्षकका लेखहरू छन् । विशेषतः खाम मगरका वंशावली, मगर शब्दका अर्थहरू तथा मगर जातिको नामकरण, मगरका थर र उपथरहरू, खाम मगरमा राखिएका स्थाननामका अर्थहरू आदिका बारेमा लेखिएका छन् । कुनै पनि जातिको लिखित इतिहास लोप भएमा लोकोक्ति, लोकआख्यान, लोकसाहित्यमा खोज्न सकिने प्रबल सम्भावना रहने कुरोलाई मध्य नजर गरेर सोही आधारमा केही लेख तयार पारिएको छ । केही खोज गरेर लेखिएको छ । मूलतः पूर्णतय अनुसन्धनात्मक ढाँचामा तयार नभए तापनि त्यसैको हाराहारीमा देखिन्छ । ताम्रपत्र, इतिहास, विभिन्न विद्वानहरूको कृतिहरूको अध्ययन गरेर तयार गरिएको छ ।

घर्ती मगर, रण प्रसाद. (२०६८). खाम मगर भाषाको रुप व्याकरण. काठमाडौँः धनमाया र धनीसरा घर्ती मगर ।
टिप्पणीः प्रतिभा पुन
रण प्रसाद घर्ती मगरको खाम मगर भाषाको रूप व्याकरण (२०६८) मा मगर खाम शब्द र शब्द बनाउने नियम बारे अध्ययन गरी तयार पारिएको छ । यस पुस्तकको वाह्य संरचनागत आयामलाई हेर्दा लगभग १४२ पृष्ठको छ । यस पुस्तकको भूमिकामा उनले सम्वत १४४८ मा जुम्लाका राजा अभय मल्लले खाम भाषा बोल्नेलाई दुई पैसा जरिवाना गरेपछि म्याग्दी जिल्लामा खाम भाषा पूर्ण रुपमा लोप भएर गएको प्रसङ्ग उल्लेख गरेका छन् । यस पुस्तकमा मिन, विशेषण, मींः,पोः लावमिन, क्रिया(यन), सान, क्रिया विशेषण, जोरै (संयोजक), भाःसिव वा विभक्तिका बारेमा राम्रो चर्चापरिचर्चा गरिएको छ । यस पुस्तकमा खोज तथा अध्ययन गरेर तयार पारिएको सामग्रीलाई नेपाली भाषामा पनि चर्चा गरिदिएको भए अन्यका लागि पनि उपयोगी हुन सक्ने थियो भन्ने गुनासो देखिनु स्वाभाविक नै हो ।