रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आफनो चलन हेर्नुपर्ने उनको भनाइ छ ।

‘अयँर-भयँर पुज्दा होस् या देउराली पुज्दा परेवा, कुखुरा, भेडो वा बोका जेसुकै काटे पनि थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने, ‘भोग दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो ।’

जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ । यो संस्कृति नबुझेकोजस्तो भएको गुरुङको भनाइ छ । अहिलेसम्म पनि त्यो चलन यथावत रहेको गुरुङ बताउँछन् ।

बाहुन त काटमार नै नगर्ने जात भएको संस्कृतिविद डा. गुरुङको भनाइ छ । ‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बुहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनलाई मछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने । त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपब्याख्या भएको गुरुङको निश्कर्ष छ ।