उपाध्याय, पण्डित अम्बिका प्रसाद. (सन् १९८६). नेपालको इतिहास र (रामनगरको
इतिहास) (दो. संस्क). पण्डित अम्बिका प्रसाद उपाध्याय ।
टिप्पणीः डा. गोविन्द प्रसाद थापा
यस पुस्तकमा लेखकले नेपालको इतिहासमाथि प्रकाश पारेका छन । यस पुस्तकका पाँच अध्यायमा भौगोलिक नेपाल, प्राचीन नेपाल, माध्यमिक नेपाल, आधुनिक नेपाल तथा अन्त्यमा रामनगरको इतिहास राखिएका छन् । लेखकले
बाइसी तथा चौबिसे राज्यहरूको नामावली यस प्रकार राखेका छन् ः बाइसी राज्यहरूमा ः रुकम, पल्लो मुसीकोट, जाजरकोट, बाँकी, शल्याना, मालमेटा, दाङ्ग, चिल्ली, मजल, दार्मा, जेहरी, डुल्लु, आछाम, डोटी, जुम्ला, बझाँङ, बाजुरा, भलहरा, कालागाउँ, धुधुरकोट, दार्ना, तथा दैलेख । त्यसैगरी चौबीसे राज्यहरूमा ः तनहुङ्ग, सिसिङ्ग, घिरिङ्ग, गजर्कोट, पाल्पा, भिर्कोट, गह्रुङ्ग, ढोर, पैञ्यू, पल्लो नुवाकोट, सुतुङ्ग, कास्की, लंजुङ्ग, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसीकोट,
धुर्कोट, इस्मा, पिउठाना, खुप्रीकोट तथा भिंग्रीकोट रहेका छन् । लेखकका अनुसार “गोरखाली राजाको अधिकारमा परेर नेपाल राज्यमा नमिल्दासम्म अघी यी चौबिशै राज्यहरू जुम्लाका अधीनवर्ती भएर उसलाई कर समेत तिर्दथे ।” पछि बहादुर शाहका पालामा समस्त बाइसी चौबिसी दुवैथरी राज्य समूह नेपाल राज्यमा मिल्न आएको कुरा लेखेका छन् । लेखकले गोरखाको राजवंशलाइ चित्तौरका राणा राजकुलको एक शाखा हो भनी लेखेका छन् । लेखकका अनुसार पछि भूपालका दुइ पुत्र खाञ्चा र मिञ्चाको जन्म भएको र कालान्तरमा यिनैका सन्ताहरूले नै गोरखाका राज्य हात पारेको कुरा लेखेका छन् । द्रब्य शाहले सन १५५९ मा गोरखामा चढाई गरेको कुरा लेखेका छन् । तिनताका गोरखामा खँडकाहरूको राज्य रहेको र ती खँडकाहरू द्रब्य शाहका हातबाट मारिएका कुरा लेखेका छन् ।