मुकुन्द सेन (प्रथम) र मुकुन्द सेन (द्वितीय) – पुष्कर अथक रेग्मी

https://nepalisahityaghar.com/2020/12/27/2563/
पुष १२, २०७७ आईतवार- ०५:३२

प्राचीन सेन वंशावली अध्ययन गरी हेर्दा चितौरमा सिसौडिया वंश थियो । मदन रायका नाति अभय राणा दिग्विजयको क्रममा बढ्दै जाँदा काली गण्डकी समीपवर्ती क्षेत्र पालपापुरी आइ बसे । यिनैको आठौ पुस्ता धर्मपाल सेनले वि. सं. १४७७ मा रिब्दीकोट नामक एउटा स्वतन्त्र रियासतको स्थापना गरी पाल्पा राज्यको जग बसाए । नेपाल एकीकरणको अभियानमा पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पुथ्वीपाल सेनलाई काठमाडौ बोलाई धोका पूर्ण तरिकाले बन्दी बनाएसंगै वि.सं. १८६१ मा पाल्पा राज्य नेपालमा विलिन हुन गयो वि. सं. १४७७ देखि १८६१ सम्म पाल्पा राज्यमा धेरै सेनवंशी राजाहरुले शासन गरे । जसमध्ये मुकु्न्द सेनको नाम अग्रपङ्तिमा आउँछ । इतिहासका अनभिज्ञहरु पाल्पामा मुकुन्द सेन एउटै थिए भन्छन् तर पाल्पामा मुकुन्द सेन नाम गरेका राजा दुई जना भए । जसलाई मुकुन्द सेन (प्रथम) र मुकुन्द सेन (द्वितीय) भनिन्छ । यस लेख मार्फत यी दुबै मुकुन्द सेनको संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१ मुकुन्द सेन (प्रथम)

(क) पूर्वजहरु

पाल्पाली सेनहरुको वंश वृक्षलाई नियाल्दा अभय राणाका खलक चितौरका राजा रत्नसेनबाट नाग सेन, नाग सेनबाट तीर्थराज र तीर्थ राजबाट तुथा राय भए । तुथा राय धार्मिक प्रकृतिका भएकाले तपस्या गर्न रुरु क्षेत्र रिडिमा आए । तुथा रायबाट दिमिकि राय दिमिकि रायबाट उदय राय, उदयपछि गजब्रहमदेव र गजब्रहम देवको वंशज धर्मपाल थिए । यिनै धर्मपाल रिब्दीकोट रियासतको राजा भए (१४७७– १५००) धर्मपालले पाल्पा रिब्दीकोटमा शासन गर्दा नेपाल उपत्यकामा ज्योति मल्लले शासन गरेका थिए । धर्मपालपछि अनेक सिहं र अनेक सिहं पछि खामसेनले पाल्पामा राज्य गरे । खामसेनका छोरा चन्द्रसेन भए । चन्द्रसेनको मृत्युपछि यिनका जेठा छोरा रुद्र सेन गद्दीमा बसे । यिनै रुद्रसेनले रिब्दीकोट बाट राजधानी पुरानाकोट अर्थात पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भए । यिनले वि. सं. १५५० देखि १५५५ सम्म पाल्पामा शासन गरे ।

ख) मुकुन्द सेन (प्रथम) को जन्म र शिक्षादिक्षा

रुद्रसेनकी जेठी महारानी आसनमालाको कोखबाट मुकुन्द सेन (१५५५) को जन्म भयो । रुद्रसेनकी दोस्री प्यूठानी रानीबाट उग्रसेन र पूर्णसेन नामक दुई छोरा र दीपावती नामकी एक छोरीको जन्म भयो । मुकुन्द सेनको शिक्षादिक्षा दरवारमै बाबु र गुरुहरुको रेखदेखमै हुन गयो ।

संस्कृत, मगर, खस, अवधी लगायतका भाषामा राम्रो दखल गर्दै गए । दश वर्षको उमेर देखिनै उनले राजकालमा चाख लिदै गए । धर्म, ज्ञान, राज्य सञ्चालन, सैन्य परिचालन, व्यवस्थापन, समन्वय, कुटनीति लगायतका विषयमा विशिष्टता देखाउँदै गए । इतिहासमा यिनैलाई राजा मणि मुकुन्द सेन (प्रथम) भनिन्छ ।

ग) विवाह र सन्तान

उमेर पुगी विवाह योग्य भएपछि यिनको विवाह गुल्मीकी राजकुमारी पुष्पमालासँग भयो । पछि आफ्नो राज्य कालमा समन्वय स्थापित गर्न प्युठानी राजकुमारी महिमावती, शासकीय सहयोगका लागि पार्कोट मगर राजकुमारी सुवर्णमाला र स्थानीय कन्या मायावतीसँग विवाह गरेका थिए । यिनकी जेठी रानी पुष्पमालाबाट विनायक सेन, हरि सेन, नरि सेन र तण्डुल सेन गरी चार छोरा, महिमावतीबाट श्वंभर सेन, भृंगी सेन, नन्द सेन, सुनन्द सेन, लोहाड्ड सेन सहित पाँच छोरा यशोधरा, जोन्नानानी, चैतानानी गरी तीन छोरी जन्मिए । सुवर्णमालाबाट माणिक्य सेन, डम्बर सेन र कुवेर सेन गरी तीन छोरा र मायावतीको कोखबाट विनायक सेन छोरा र कर्णावती छोरीको जन्म भयो ।

घ) राज्य सञ्चालन र विजय अभियान

रुद्रसेन पछि उनका छोरा मुकुन्दसेन पाल्पाका राजा भए । (१५७५–१६१०) । उनी राजा हुँदा बीस वर्षीय जोशिला युवा थिए । त्यस्ताका नेपाल उपत्यकामा क्रमश ः सूर्य मल्ल र अमर मल्लले शासन गरिरहेका थिए । बाबु रुद्रसेनको राज्य, एकीकृत अभियानलाई यिनले अगाडि बढाउँदै लगेका थिए । त्यस्ताका काबुलका बादशाह बाबरले पश्चिम उत्तर भारतमा त्राही त्राही मच्चाइरहेका थिए । बंगालका सुल्तान नसरत शाहले मिथिलामा आक्रमण तिरहुत प्रदेशलाई कब्जा गर्दै थिए । यता नेपालमा उपत्यकामा मल्ल राजाहरु कलह गर्दै थिए । यही क्रममा उनले चतु¥याई पूर्व छिमेकी राजाहरुसँग समन्वय स्थापित गर्दै खस र मगर जातीहरुको बलियो सैन्य संगठन बनाई परम्परागत रुपमा चलिआएका धनुकाँण, गुलेली, खुडा, खुकुरी, ढाल, तरवार, भाला, बर्छा, भरुवा, बन्दुक, ढुड्डा, मुढा लगायतका हातहतियारहरु जम्मा गरी सैन्य शक्तिलाई श्रेष्ठ शक्तिको रुपमा विकसित गरी उपत्यकालाई समेत पाल्पा राज्यको अधिनमा राखे । यिनले पाल्पाली सेनालाई पूर्व र पश्चिम गरी अघि बढाए । पूर्व बढेको सेनाले ब्रÞमपूत्र र गंगाको संगमस्थल सम्म कब्जा ग¥यो र भने पश्चिम बढेको सेनाले कुमाउ, गढवाल हुदै श्रीनगर सम्म सर ग¥यो । उत्तरमा धवलागिरी हिमाल र दक्षिणमा हरिहर क्ष्ोत्र पुग्यो यसरी मुकुन्दसेनको पाल्पा राज्य भित्र बराहक्षेत्र, रुरु क्षेत्र, मुक्ति क्षेत्र र हरिहर क्षेत्र गरि चार वटै धार्मिक क्षेत्र पर्न आए । यसपछि चक्रवती महाराज मुकुन्द सेनको नामले पुकारिन लाग्यो । यसरी उनी एकीकृत विशाल पाल्पा राज्यका महान निर्माता भए ।

ङ) साँस्कृतिक एंव धार्मिक कार्य

दिग्विजयको क्रममा ध्वंसात्मक प्राकृतिका देखिएता पनि वास्तवमा राजा मुकुन्द सेन धार्मिक प्रकृतिका थिए । उनले जुन–जुन क्षेत्रमा विजय हासिल गर्थे त्यहाँका देवी देवता मठ मन्दिरलाई उच्च सम्मान र आदरका दृष्टिकोणले हेर्थे । विजय गरेर ल्याएका मूर्तिहरुलाई पनि विधिवत प्रतिष्ठापित गर्थे । काठमाण्डौँ रातो मचिन्द्रनाथबाट ल्याएको काल भैरवको अपूर्व मूर्तिलाई भैरवनाथको रुपमा स्थापित गरी पाल्पालीको आराध्य देव बनाए । यसै गरी रुरु क्षेत्र गुल्मीमा चर्तुबाहु, श्री विष्णुको मूर्ति प्रतिष्ठापित गरी ऋषीकेशवको मन्दिर बनाए । देवघाटमा मुकुन्देश्वर महादेव, गणेश, विष्णु, सूर्य , भगवतीका मन्दिरहरु बनाई मूर्तिहरु स्थापना गरे र स्थायी पूजाआजाको लागि गुठीको व्यवस्था गरे ।

उनले नारायण मल्ललाई आफ्नी छोरी यशोधाराको विवाह गरी दिदाँ समेत दाइजो स्वरुप महाकाली, महालक्ष्मी, महासरस्वतीका मूर्तिहरु दिए । भनिन्छ, मुकुन्द सेनले शिववाणी सुनेका थिए र भगवान शिवबाट तरवार प्राप्त गरेका थिए । उक्त तरवार बन्दिपुरको भगवती मन्दिरमा अद्यावधि रहेको छ । हाल भारतको मुजफरपुरमा पर्ने हरिहर क्षेत्रमा समेत पाल्पाली प्यागोडा शैलीमा हरिहरको मन्दिर बनाए । मुकुन्द सेनले राज्य व्यवस्था नीति नियमको आधारमा चल्ने चलन चलाए । शास्त्रीय विधी पूर्वकको शान्ति, सुव्यवस्था, इज्जत, सम्मान, मेलमिलाप जन सहभागिता र समर्थन साथ साथमा राज्य सञ्चालन गरे । राज्य भित्रका शिव मार्गी, बौद्ध मार्गी, किराँत मार्गीहरु बिच साँस्कृतक समन्वय स्थापित गरे । उनी वीर विजय प्रतापी राजा हुनुका साथै धार्मिक साँस्कृतिकमा मर्मज्ञ थिइ । राज्य एकीकृत मेलमिलाप र समन्वयात्मक, संस्कृति नै उनको अभियान थियो ।

च) संघीय शासनको सुरुवात

मुकुन्द सेनले वि.सं. १५७५ देखि १६१० सम्म शासन गरेका थिए । उनले पाल्पालाई केन्द्र मानी संघीय शासन प्रणालीमा जोड दिएका थिए । आफ्नो शासनकालमै उनले पाल्पा, बुटवल, रिसिड्ड, तनहुँ, मकवानपुर, राजपुर र मदरिया गरी सात राज्यमा विभाजन गरे । पाल्पामा माणिक्य सेन बुटवलमा विनायक सेन, रिसड्डिमा रामसेन तनहुँमा भृगीसेन, मकवानपुरमा लोहाड्डसेन, राजपुरमा कुवेरसेन र मदरियामा खड्क सेनलाई शासन गर्ने जिम्मेवार दिए । मुकुन्द सेनको शासनपछि उनका ती जिम्मेवार छोरा, भाई, भतिजहरु आफू आफैमा कलह गर्न थाले र राजा भएको घोषणा गर्न थाले र पाल्पाको केन्द्रिय नियन्त्रण कमजोर हुदैँ गयो । यहि क्रममा पाल्पाभित्र समेटिएका अन्य राज्यहरु पनि स्वतन्त्र हुदैँ गए । सेनहरुको पारिवारिक भाग बण्डा, फुट, कलह, विद्रोहीको फलस्वरुप पाल्पा राज्य कमजोर हुदैँ गयो ।

छ) जीवनको उत्तरार्द्ध

राजा मुकुन्द सेन ५७ बच्चा उमेरमा वि.सं. १६१० सालमा राजकाज त्यागी त्रिशुली र कालीको दोभान पवित्र तीर्थस्थल देवघाटमा गई तीर्थस्थल देवघाटमा गई तपस्या गरी बसे । उनको तपस्याले राज्यभर सुख शान्ती समृद्धि छाउँदै गयो । राजाको तपस्याले सुदिन आएको भनि उनलाई मुनि मुकुन्द भन्न थाले । पछि आएर मणि मुकुन्द भनियो । अझै पछि विशाल पाल्पा राज्यका निर्माता महान चक्रवती राजा मणिमुकुन्द सेन भनियो । यसरी बाह्र वर्षसम्म तपस्वी जीवन बिताएपछि वि.सं.१६२२ सालको एकदिन विहान उनी शशरीर परमात्मामा विलिन भएर गए । उनका एकजना भक्तले काली र त्रिशुलीको दोमहीमा जाल हान्दा अपूर्व शिला भेटाएछन् । सपनाको आदेश अनुसार उक्त शिलालाई मणिमुकुन्द सेनको स्वरुप मानी ‘चक्रशिला’ नाम दिई उनकै आश्रममा ल्याई स्थापना गरियो । आश्रमले मन्दिरको रुप लियो । पाल्पा दरवारबाट नित्य पूजा, पूजारी र गुठीको व्यवस्थामा गरियो । देवघाटमा चक्रशिला, अधावधी रहेको छ ।

२) मुकुन्द सेन (द्वितीय)

क) पूर्वजहरु

मुकुन्द सेन (प्रथम) ‘चक्रशिला’को रुपमा रहेपछि उनका छोरा भाई भतिजहरुले आ–आफ्नो राज्य भोग गर्दै गए । पाल्पा राज्यको पहाडि खण्डको राजा यिनकै छोरा मणिक्य सेन भए । मणिक्य सेनपछि क्रमश ः फिरोज सेन, जगदीश सेन र पृथ्वी सेन राजा भए । पृथ्वी सेनका छोरा त्रिलोक सेन निसन्तान भए । पाल्पा राज्यको तराई बुटवल खण्डमा मुकुन्द सेनकी जेठी महारानी पुष्पमालाको छोरा विनायक सेन राजा भए । यसपछि क्रमश ः जसु सेन, दामोदर सेन, बलभद्र सेन र अमर सेनले राज्य गरे । पाल्पाका त्रिलोक सेन निसन्तान भएकाले अमर सेनको पालामा बुटवल गाभियो । अमर सेनपछि गन्धर्व सेन पाल्पा राज्यका राजा भए । यिनै गन्धर्व सेनकी छोरी कौशल्यावतीलाई गोरखाका राजा नरभूपाल शाहले विवाह गरे । जसको कोखबाट आधुनिक नेपालका निर्माता वडा महाराजाधिराज पृथ्वी नारायण शाहको जन्म भएको हो । राजा गन्धर्व सेनका उधोत सेन, लक्ष्मीनारायण सेन र महावीर सेन गरी तीनजना छोराहरु भए । परन्तु युवराज उधोत सेनको बाबु जिवितै रहँदा निधन भयो । वि.सं. १८०९ मा गन्धर्व सेनको निधन भएपछि यिनकै नाती अर्थात उधोत सेनका छोरा मुकुन्द सेन पाल्पा राज्यको राजा भए । यिनैलाई इतिहासमा राजा मुकुन्द सेन द्वितीय भनिन्छ । यिनको निधन वि.सं. १८३९मा भयो ।

ख) विवाह र सन्तान

राजा मुकुन्द सेन (द्वितीय) ले अर्घाकी राजकुमारीसँग विवाह गरेका थिए । यिनका महादत्त सेन, शूरवीर सेन, करवीर सेन, चन्द्रवीर सेन र ध्वजवीर सेन गरी पाँचजना छोराहरु, जन्मिएका थिए । मुकुन्द सेन द्धितिय पछि महादत्त सेन पाल्पाका राजा भए । यिनले तानसेन देखि उत्तर तर्फको श्रीनगर डाँडामा आफ्नो दरवार बनाई त्यसको आसपासमा सहर बसाए । जुन पाल्पा तानसेनको श्रीनगर भनेर अधावधि प्रसिद्ध छ । महादत्त सेनका पृथ्वीपाल सेन, रणबहादुर सेन र समरबहादुर सेन गरी तीन छोरा र दुई छोरी भए । महादत्त सेन पछि पृथ्वीपाल सेन पाल्पाका राजा भए । पृथ्वीपाल सेन नै पाल्पा राज्यका सेन वंशका अन्तिम अभागी राजा भए ।

ग) राज्य सञ्चालन र विजय अभियान

मुकुन्द सेनले बाल्यवस्था देखिनै पितामह गन्धर्व सेनलाई राज्यकालमा सहयोग गर्दै आएका थिए । युवावस्था देखिनै सैनिक नेतृत्वमा लागिरहने समन्वय कार्य, भूमिका निर्वाह गर्ने गर्दथे । पाल्पामा मुकुन्द सेन राज्य गरी गोर्खाका राजा पृथ्वीनारायण शाह नेपालको एकीकरण अभियानमा जुटिरहेका थिए । दक्षिणतर्फ अवधमा सफदर जड्डको शासन चलेको थियो । अवधका नवावहरुसँग मुकुन्द सेनले युद्व गरी बन्दुक र झण्डा समेत लिएका थिए । नवावलाई जितेको खुसीयालीमा उनले ‘बहादुर’ शब्द ग्रहण गरी स्याहामोहरहरुमा समेत प्रयोग गरेका थिए । मुकुन्द सेन (द्वितीय) पनि मुकुन्द सेन (प्रथम) जस्तै राष्ट्रिय एकतामा महत्व दिने देखिन्छन् । यिनले पाल्पालाई केन्द्र मानी रिसिड्ड, घिरिड्ड, अर्घा, खाँची, गुल्मी, प्यूठान, तनहँु, लमजुङ, पर्वत, मकवानपुर आदिलाई एउटै गठबन्धनभित्र राखी गोरखा राज्यसँग नै टक्कर लिएको देखिन्छ । सिक्किम र भूटान सम्म पनि पूर्वतर्फका विजयपुर र चौदण्डी क्षेत्रका सेनाहरुद्वारा सम्पर्क बढाएका थिए । भारतको इष्ट इण्डिया कम्पनी सँग पनि पाल्पाको सम्बन्ध राम्रो थियो । यसरी मुकुन्द सेनको पालामा पाल्पाको प्रभाव बढ्दो रहेकोले गोरखाका राजा पृथ्वीनारायण शाह समेत सचेत थिए । पृथ्वीनारायण शाहको वि.सं. १८३१ म स्वर्गारोहण भए पश्चात प्रतापसिंह शाहपछि नावालक रणबहादुर शाह राजा भएको अवस्था र बहादुर शाह बेतिया गई बसेको अवस्थामा राजा मुकुन्द सेनले सैनिक संगठन सुदृढ बनाउँदै गुमेका पाल्पाका राज्यहरु फर्काउने अभियानमा लागेका पाईन्छ । यही क्रममा पाल्पा पर्वत, लम्जुङ आदि छ राज्य मिलि वि.सं. १८३८को पौष÷माघ महिनामा गोरखा आक्रमण गर्न गएका थिए । यसरी पाल्पाका राजा मुकुन्द सेनले आफ्नो प्रभाव बढाउँदै लगेका थिए ।

घ) सांस्कृतिक एवं धार्मिक कार्य

मुकुन्द सेन (प्रथम) जस्तै मुकुन्द सेन (द्वितीय) पनि धार्मिक प्रकृतिका राजा थिए । यिनले आफ्ना कान्छा छोरा ध्वजवीर सेनलाई धर्मपुत्र बनाउन विजयपुरका राजा कर्णसेनकी विधवा रानीलाई दिएका थिए । यिनले मठमन्दिर निर्माणका लागि समेत बन्दोवस्त गरि दिएका थिए । रुरु क्षेत्र रिडिको ऋषिकेशव मन्दिर, भैरवस्थान, देवघाट, बुटवल क्षेत्र आदिका जीर्ण मन्दिरहरु मर्मत गरी पूजा सामग्रीहरु थपिदिएका थिए । यिनकै पाल्पादेखि ऋषिकेशव र भैरवस्थानमा पूजा गरी पञ्चे बाजा बजाउनु पर्ने थप व्यवस्थापन गरियो । यिनको शासनकालमा पाल्पा राज्यमा नौ जना विद्वानहरु थिए । यिनीहरुलाई ‘नवरत्न’ भनिन्थ्यो । यिनीहरुले धर्म, शिक्षा, संस्कृृति लगायतका पक्षहरुमा राजा मुकुन्द सेनलाई सघाँउथे । पाल्पा राज्यको श्री वृद्धिमा खटिएका यिनै नौ जना नवरत्न हरुको मालामा मणिस्वरुप भएका राजा मुकुन्द सेन द्वितीय थिए ।

ङ) जीवनको उत्तरार्द्ध

मुकुन्द सेन (द्वितीय)ले महिला छोरा शूरवीर सेनलाई सैनिक क्षेत्रको काममा लगाएका थिए । काका, भाई, छोराहरुका साथै पाल्पाली सैन्यवलहरुलाई साथ लिई छिमेकी राज्यहरुसँग समन्वय गर्दै अघि बढिरहेको अवस्थामा विजयपुरमा गोर्खाली सेनाद्धारा कान्छा छोरा ध्वजवीर सेन मारिनु, आफ्नै योजनामा पठाएका चौबीसी अधिकारीहरु पनि गुमाएर सेना फर्कनु, लमजुङ र तनहुँ पनि नेपालमै गाभिएको खबर थाहा पाउनु जस्ता कार्यले उनी निकैनै विक्षिप्त भएको पाईन्छ । वृद्ध र जिर्ण हुदै गएको शरीर, पुत्र शोक, अन्तिम रण क्षेत्रहरुमा असफलता आदि कारणले चिन्तित भएतापनि हिम्मत नहारेका राजा मुकुन्द सेनले पाल्पा राज्य माथि तीस वर्ष शासन गरी वि.सं. १९३९ मा परलोक भए ।

यसरी पाल्पा राज्यमा वि.सं. १५७५ देखि वि.सं.१६१० सम्म राज्य भरि राजर्षि भई वि.सं. १६२२ मा देवघाटमा परमात्मा विलिन भएका राजालाई मणि मुकुन्द सेन (प्रथम) भनिन्छ भने वि.सं. १८०९ देखि वि.सं. १८३९ सम्म राज्य गरी पाल्पामा स्वर्गीय भएका राजालाई मुकुन्द सेन (द्वितीय) भनिन्छ । अर्थात पाल्पा राज्यका संस्थापक रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) हुन् भने राजा गन्धर्व सेनका नाती, उधत सेनका छोरा र पाल्पाको तानसेनमा श्रीनगर शहर बसाल्ने राजा महादत्त सेनका बाबु राजा मुकुन्द सेन (द्वितीय) हुन् ।

सन्दर्भ सामग्रीहरु ः

खनाल, मोहनप्रसाद (२०६१), सेनराज्यको राजनैतिक इतिहास, काठमाण्डौँ ः नेपाल र एशियाली अनुसन्धान केन्द्र ।
घिमिरे, विष्णुप्रसाद (२०४५), पाल्पा राज्यको इतिहास, भाग–१ चितवन ः पदमा घिमिरे ।
घिमिरे, विष्णुप्रसाद (२०५६), पाल्पा राज्यको इतिहास, भाग–२, चितवन अध्ययन केन्द्र ।
रेग्मी, पुष्कर अथक (२०७६) अमर पात्र, ऐतिहासिक नाटक संग्रह, पाल्पा ः पाल्पा साहित्य समाज
सेन, सूव (२०६१), मणिमुकुन्द सेन प्रथम राष्ट्रिय संस्कृतिका संस्थापकको रुपमा एक अध्ययन पाल्पा दर्शन, काठमाण्डौँ ः जीवन मासिक
श्रेष्ठ, निर्मल (२०७५) सेनकालीन इतिहास कला र संस्कृति, पाल्पा ः केशलक्षी श्रेष्ठ
क्षत्री, कर्णबहादुर वानिया (२०६३) पाल्पा गौडा ः एक ऐतिहासिक अध्ययन, काठमाण्डौँ ः फूलचोकी पब्लिकेशन एण्ड डिस्ट्रीव्यूसन प्रा.लि ।