अधिकारी, विपिन. (२०६८ वैशाख १). नेपालका खस जाति. काठमाडौः नेपाल कन्सल्टिङ यर्स फर्म, न्यू प्लाजा । टिप्पणीः डा. गोविन्द प्रसाद थापा

यस पुस्तकमा ६ अध्याय छन् । पहिलोमा खस जातिको सामान्य परिचय, दोस्रोमा खसहरूको नेपाल यात्रा, तेस्रोमा प्राचीन खस जाति, चौथोमा हिन्दु धर्ममा प्रवेश, तथा पाँचौं र छैटाै क्रमशः खस राजनीतिक इतिहास र राज्य व्यवस्था तथा आधुनिक नेपाली खस जाति रहेका छन् । खस जातिको उत्पत्तिबारे लेखक लेख्छन्, “आधुनिक नेपाल, यसको पश्चिमोत्तर क्षेत्रहरू वृहत हिमवत् खण्ड बाहिर ‘खस’ शब्दको प्रचलन रहेको देखिँदैन । ‘खस’ शब्द हिमवत खण्डमा बोलिने नेपाली तथा हिन्दूकुश क्षेत्रका अन्य पहाडी भाषाको व्युत्पत्ति नै हो । यी सबै पहाडी भाषाहरू ‘खस’ शब्द आज पनि प्रचलित छ । खसहरूको वैदिक नाम ‘करस्कर’ हो । वेदभन्दा पछि लेखिएका संस्कृत साहित्यमा ‘करस्कर’ र ‘खस’ दुवै शब्दको प्रयोग भएकाले यी शब्दहरू पर्यायवाची हुन् कि भन्नेतर्फ पनि सोच्न सकिन्छ । ‘खस’ भन्ने शब्द पछि मात्र प्रयोगमा आएको देखिँदा वैदिक पुस्तकहरूमा लेखिएको ‘करस्कर’ भन्ने शब्द नै अपभ्रंश हुंदै ‘खस’ बनेको हुन सक्ने धेरैको भनाइ छ । कतिपय ठाउँमा खसलाई ‘खसिया’ समेत भनेको पाइन्छ । खसहरू बसोबास गरेका क्षेत्रहरू जस्तो काश्कर, काश्गर, र खस शब्दहरू एकै अर्थमा प्रयोग भएका छन् । मध्य–एशियाको “ककेसस” वा “ककस” भन्ने पर्वतीय क्षेत्र खस जातिको उद्गम क्षेत्र मानिन्छ । त्यस क्षेत्रबाट ऐतिहासिक कालमा पश्चिम चीन तथा भोटेली सीमावर्ती क्षेत्र हुँदै हिमवत खण्ड तथा नेपाल प्रवेश गरी यस क्षेत्रमा बसोबास गर्दै आएको जाति भएकाले उनीहरूलाई खस भनिएको हो । ‘ककेसस’, ‘ककस’ वा ‘कस’ शब्द अप्रभंश हुँदै जाँदा ‘खस’ भन्ने शब्द बन्न गएको धेरै विद्वानहरूको विश्लेषण देखिन्छ । पश्चिम एशियाको वेबिलोनियामा खसलाई कस भनिन्थ्यो । यसै क्षेत्रको कश्यप सागर (अंग्रेजीमा क्यास्पियन सि) पनि कस जातिसँगै सम्बन्धित छ । उनीहरूले बेबिलोनियामा लगभग साढे पाँच शताब्दीसम्म शासन गरेको पाइन्छ । यसबाहेक खसको अर्को व्याख्या छैन ।” पृ. ४–५
खस जातिहरूमा हिन्दु धर्मको प्रभावका बारेमा लेखक लेख्छन्, “वास्तवमा सोह्रौँ शताब्दी पुग्दानपुग्दै बाइसे–चौबिसे राजाहरूलाई अब खसभन्दा खसेको वा झरेको जात भन्ने पीर लाग्न थालिकेको थियो । हिन्दु मान्यताअनुसार राजा हुन राजपूत हुनुपर्ने, राजपूत नभइकन भारतीय चक्रवर्ती राजाहरूको पगरी नपाइने, उनीहरूसँग बिहेबारी नचल्ने पीडा खस शासकहरूमा तत्कालीन युगमा कम थिएन । यसबाट दुईवटा परिणाम निस्कन पुग्यो । पहिलो खस राजाहरूले अब आफूलाई राजपूत वा ठकुरी भएको बताउन लागे । सोहीअनुसार उनीहरूले आफनो राज्यलाई ठकुराई भन्ने परम्परा सुरु गरे । यसै क्रममा चिना फेर्ने तथा वंशावली लेखाउने प्रचलन पनि घरघरै पुग्यो ।” पृ. ५४–५५ कश्मीरका राजाका र जयपीडका बारेमा लेखकले लेखेका छन्, “..नवौं शताब्दीको सुरुताका कश्मीरका राजा जयापीड (विनयादित्य) ले कुमाउ हुंदै पश्चिम नेपालमा आक्रमण गरेको प्रसङ्ग पाइन्छ । त्यसबेला गण्डकी प्रदेशका सामन्त अरमुडिको प्रशासन चलिरहेको थियो । काश्मिरी लेखक काल्हणका अनुसार राजा अरिमुडि ज्ञानि, पौरखी र अत्यन्त चलाख योद्धा थिए । यिनले जयापीडलाई परास्त गरी कालीगण्डकीको तीरको एउटा किल्लामा थुनेर राखेका थिए ।” अन्य जातिसँगको सम्बन्धका बारेमा लेखकको भनाई यस प्रकार छ, “नेपालका जनजातिहरूमध्ये खसहरूको सबैभन्दा नजिकको सम्बन्ध मगरहरूसँग रहेको देखिन्छ । खस भाषा तथा संस्कृतिमा मगर प्रभाव र मगर भाषामा खस प्रभावको कथा धेरै लामो छ । यसको मुख्य कारण खसहरूले गण्डकी क्षेत्रमा मगरहरूसँग लामो अवधिसम्म साझा राजनीति र कर्मभूमि को प्रयोग नै हो । यसैकारणले ऐतिहासिक कालमा मगर शासक वा प्रशासकका बीच बिहेबारी तथा पारिवारिक सम्बन्ध गहिरो भएको हुन सक्छ । केही हदसम्म गुरुङहरूसँग पनि खस शासकहरूको यस्तो सम्बन्ध रहयो । प्रागैतिहासिक कालमा धेरै हदसम्म नेवारहरू तथा मध्यकालमा थोरै मात्रामा तामाङहरूसँग पनि खस शासकहरूको पारिवारिक सम्बन्ध भएको देखिन्छ । किराँत तथा लिम्बुहरूसंगको बिहेबारी भने तुलनात्मक रूपमा नयाँ हो । यस समूहका कतिपयले आफूलाई विभिन्न कारणले ठकुरी भन्न पनि रुचाए ।” पृ.७५–७६ त्यस बखत नेपालको एकीकरणभन्दा अघिको राजनीतिक परिस्थितिका लेखक लेख्नु हुन्छ, “करिब असी वटा साना ठुला शासकीय संरचना भएको हिमवत खण्ड वा पश्चिमको महाकाली नदीदेखि पूर्वको टिस्टा नदिसम्मको नेपाली क्षेत्रका
कुनै पनि बाइसी, चौबिसी वा किराँत क्षेत्रमा जातीय शासन थियो भन्ने प्रमाण कतै भेटिएको छैन । जातपातको त कुरै भएन ।……गण्डकी, प्रश्रवण इलाकामा दशौं शाताब्दीका शक्तिशाली राजा अरमूढीलाई ‘नेपाल पालक’ अर्थात नेपालका राजा भनेर काश्मीरका पण्डित काल्हणले आफनो पुस्तक राजतरंगिनीमा लेखेका छन् । वास्तवमा दशौं शताब्दीभन्दा पहिले मगरहरू नै मगरका रुपमा चिनिएको पाइँदैन ।” पृ. ८०–८१

अधिकारी, सूर्यमणि. (२०४३). पश्चिम नेपालको ऐतिहासिक अन्वेषण. काठमाडौः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि. वि.। टिप्पणीः डा. गोविन्द प्रसाद थापा

यस पुस्तकमा लेखकले २०४१÷४२ सालमा राप्ती र भेरी अञ्चलका जिल्लाहरूको भ्रमणबाट तयार गरिएका सामग्रीहरू छन् । लेखकले पूर्व मध्यकालमा पश्चिम नेपालमा विशाल खस अधिराज्यको अस्तित्त्व विद्यमान थियो जसमा सम्पूर्ण पश्चिम नेपाल, कुमाउँ, गढवाल र दक्षिण पश्चिमी तिब्बत (गुगे, गाँग्री, र पुरुङ्ग) र सम्भवतः लद्दाख समेत समावेश थियो भनी लेखेका छन् । त्यसैगरी पन्ध्रौं शताब्दीको प्रारम्भतिर खश अधिराज्यको विघटन पछि नेपालको कर्नाली प्रदेशमा बाइसे र गण्डकी प्रदेशमा चौबिसे समूहका ससाना राज्यहरूको उदय भयो । तेस्रो चरण वा अठारौं शताब्दीको उत्तराद्र्धमा आधुनिक नेपालको विजय अभियानको क्रममा नेपाली सेनाको विरोध गरी युद्ध गर्ने राज्यहरूलाई समाप्त पारियो भने नेपाली सेनाको शरण परी सहयोग गर्ने राज्यहरूलाई अधीनस्थ राज्यको रुपमा रहन दिइयो । यस्ता अधीनस्थ राज्यहरूमा मुस्ताङ्ग, गल्कोट, जाजरकोट, सल्यान, उदयपुर, खुमरी, डुल्लु, दर्ना, बाजुरा, बझाङ्ग, आदि थिए । वि.सं. २०१७ को राज्य रजौटा ऐनद्वारा यी राज्यहरूको अस्तित्त्व समाप्त हुन गयो । यस ऐनलाई पछि संशोधन गरेर मुस्ताङ्ग, जाजरकोट, सल्यान, र बझाङ्गका राजाहरूलाई जेष्ठानुक्रमले पुरुष सन्तान दरसन्तान पर्यन्त ‘राजा’ उपाधि धारण गर्न पाउने व्यवस्था गरिएको छ । नागराजले खस राज्यको स्थापना मात्र गरेनन् राज्य सञ्चालनका लागि आवश्यक स्थिति बन्दोबस्त पनि मिलाएका थिए भन्ने कुरा यसबाट देखिन्छ । यस पुस्तकमा लेखकले विभिन्न अधिराज्यका महत्त्वपूर्ण अभिलेखहरूको सङ्गालो राखेका छन् । यी अभिलेखहरूको मद्दतबाट तत्कालीन इतिहासलाई बुभ्mन सरल हुने विश्वास गर्न सकिन्छ । उदाहरणका लागि जुम्ला राज्यका बिस अभिलेखबाट खस अधिराज्यको विघटनपछि जुम्लामा कलैगाउँका एक जना सामन्त उत्तमराजका छोरा वलिराजले कल्याल वंशको शासन स्थापना गरे । वंशावलीअनुसार उत्तमराजका पुर्खाहरू चित्तौडका सिसौडिया राणाहरू थिए । जुम्ला भेकमा आएपछि उनीहरू पहिले पाल र पछि धित र थापा कहिन लागे । वंशावलीमा उत्तमराजलाई उत्तिम थापा भनिएको छ ।