घिमिरे, विष्णुप्रसाद. (२०६९). पाल्पा राज्यको इतिहास. भाग १. दो. संस्क. चितवनः श्रीमती पद्मा घिमिरे ।
टिप्पणीः डा. मीन श्रीस मगर

आठ खण्ड र ३०१ पृष्ठ संख्या रहेको यस पुस्तकको पहिलो खण्डमा पाल्पा राज्यका ऐतिहासिक सामग्री, भौगोलिक स्थिति र जनजातिका वारेमा वर्णन गरिएको छ । गण्डकी माहात्यमा उल्लेख गरिएअनुसार मुकुन्द सेन प्रथमको समयमा पाल्पा राज्यको सीमाना पूर्वमा वराहा क्षेत्रको अन्त्यसम्म (भारतको पूर्णिया, जलपाइगुडीसम्म), पश्चिममा रुरुक्षेत्र, उत्तरमा मुक्तिक्षेत्र (मुस्ताङ भोट) र दक्षिणमा हरिहरक्षेत्र (गंगा किनार, मुजहपुर र छपरा जिल्ला) सम्म फैलिएको थियो । मगरात देशको नामले प्रसिद्ध पाल्पा भेगलाई मगरहरूकै आदि बासस्थान भएको र अन्य जातिका मानिसहरू पछि आएको मानिन्छ ।

प्राचीन सेन वंशावलीमा पाल्पाली सेनका पुर्खा अभय राणाले मकवानपुरका मगर राजा गजलक्ष्मणसिंहकी छोरी कान्तिमतीसँग र मुकुन्द सेन प्रथमले पार्कोटे मगर राजाकी छोरी सुवर्णमालासँग विधिवत विवाह गरेको उल्लेख गरिएकाले सेन र मगर समान जातिका जस्ता देखिन्छन् । यसैगरी काठमाडौंको केशर पुस्तकालयमा रहेको नारद स्मृतिमा पनि ‘मगर राजा मुकुन्द सेन’ भन्ने उल्लेख गरिएको पाइन्छ भनी यसै खण्डमा वर्णन गरिएको छ । दोस्रो खण्डको राजनैतिक शीर्षकमा पनि मगर जातिका बारेमा उल्लेख गरिएको छ । पाल्पा क्षेत्रका अनेक थुममा शासन गर्ने मगर मुखियाहरूलाई जितेर सेनवंशी शासन स्थापना भएको थियो ।

नारद स्मृतिमा उल्लेख गरिएअनुसार पाल्पाका मगर राजा मुकुन्द सेन प्रथमले नेपाल उपत्यकामा चार पल्टसम्म आक्रमण गरेको कुरा यसै खण्डमा वर्णन गरिएको छ । खण्ड तीनमा प्रशासनिक व्यवस्था, खण्ड चारमा वैदेशिक सम्बन्ध, खण्ड पाँचमा समाज र संस्कृति, खण्ड ६ मा आर्थिक जीवन, खण्ड सातमा कला र  स्तुकला तथा खण्ड आठमा उपसंहार प्रस्तुत गरिएको छ । परिशिष्ट खण्डमा पाल्पाली सेन राज्यकालीन महत्त्वपूर्ण अभिलेखहरू राखिएको छ ।

वि.सं. २०३३ सालदेखि त्रिभुवन क्याम्पस पाल्पामा इतिहास विषय प्राध्यापन गर्ने क्रममा लेखक डा. विष्णुप्रसाद घिमिरेले यस पुस्तकको प्रथम संस्करण वि.सं. २०४५ सालमा तयार पार्नुभएको थियो । ऐतिहासिक पाल्पा राज्य र मगर जातिका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो पुस्तक एउटा महङ्खवपूर्ण सन्दर्भ सामाग्री हुने देखिन्छ ।