हाम्रो इतिहासको आरम्भ हिमवत्खण्ड
प्रदीप नेपाल
नेपालमा आदिवासी र जनजातिबारे धेरै विवाद भयो । यो बहसको थालनी गर्ने आपूmलाई जनजातिको नेता भनाउनेहरू नै थिए । उनीहरू विद्वान थिए र अङ्ग्रेजी भाषामा दीक्षित पनि थिए । त्यसैले नेपालमा पनि संयुक्त राष्ट्रसङ्घ र ‘आर्टिकल’ १६९ भन्ने शब्दावलीको छ्यासछ्यास्ती प्रयोग भयो । एकाध वर्ष तिनले सबैलाई अलमल्याए । जनजाति र आदिबासी अविभाज्य समुदाय हुन् भन्नेसम्मको असत्यलाई अङ्ग्रेजीभाषी विद्वानहरूले नेपाली जनसमुदायका बीचमा खेतपाती गरे । उनीहरूले एउटै बनाएको असत्यलाई अङ्ग्रेजी पढेका अरुले, अङ्ग्रेजीमा ‘एण्ड’ भन्ने शब्दले ती दुई एउटै होइनन् भनेर छुट्याइदिएको छ भनेपछि बहस त सकियो । तर अङ्ग्रेजी पण्डितहरूले छरेको भ्रम अहिले पनि नेपाली मानसबाट बाहिर निस्केर गइसकेको छैन । भ्रममुक्त त आफैं हुने हो । तर सत्य के हो भने आदिवासी र जनजाति एउटै हुन् भनेर कतै भनिएको छैन । आदिवासी बसोबाससँग जोडिएको छ भने जनजाति विकाससँग जोडिएको छ ।
पछिल्ला दिनमा नेपाली विद्वानको विद्वता पढ्दा मलाई लाज लाग्न थालेको छ । यिनीहरू के साँच्चिकै नेपाली इतिहासकार हुन् ? मेरो विश्वास हो – यिनीहरूलाई आफ्नो देशको इतिहास थाहा छैन । यिनका ज्ञानका स्रोत भएका छन् सिल्वाँ लेभी लगायतका पश्चिमा इतिहासकारहरू । हाम्रो देशको इतिहास के पश्चिमाहरूले लेखिदिएको चौहद्दीभित्र मात्र छ ? तिनैबाट ज्ञान लिएका हाम्रा विद्वानहरूले त्यसैले राष्ट्रिय एकीकरणपछिका सबै नेपाली आदिवासी हुन् भनेर संविधानसभाले तोकेको होला । योभन्दा लज्जाजनक ज्ञान अरु के हुन्छ ? हाम्रै देशका विद्वान र राजनीतिक पण्डितका कारण हामी नेपालीको पाँच हजार वर्षको इतिहास पाँच सय वर्षमा झारियो ।
नेपाली किराँतको पात्रो नै पाँच हजार वर्षभन्दा पुरानो छ । नेपालका पहिला शासक किराँतहरू नै हुन् । त्यतिबेला शासित पनि किराँतीहरू नै थिए । ग्रेगोरियन क्यालेण्डर अनुसार दोस्रो शताब्दी दक्षिण पश्चिमबाट आएका लिच्छवीहरूले किराँतलाई पराजित गरेर नालाको डाँडो कटाइदिए । आरामले बसेका किराँतलाई पाटनको च्यासलमा पटापट काटेर मारिदिए । जो श्रमिक थिए, ती त लिच्छवी शासकलाई पनि चाहिन्थ्यो । त्यसैले ती किराँत श्रमिकहरूलाई लिच्छवी शासकले कजाएर खाने निर्णय गरे । अहिले पनि तिनीहरू ज्यापुका रूपमा काठमाडौंका भूमिपुत्र भएर बाँचिरहेका छन् । अर्थात् उनीहरू काठमाडौं उपत्यकाका आदिवासी हुन् । ज्यापु बाहेकका नेवारहरू आदिवासी होइनन् ।
सत्य धेरैलाई मन पर्दैन । किनभने सत्यले भ्रान्त धारणालाई स्वीकार गर्दैन । नेवार जाति वर्णाश्रम व्यवस्थामा हुर्किएको एक भाषिक समुदाय हो । अहिले पनि त्यसभित्र वर्णाश्रम व्यवस्था जीवित छ । भूमिगत कालमा हामी प्रायः दमाई टोलमा बस्थ्यौं । किनभने त्यहाँ सुरक्षा हुन्थ्यो । सवर्ण नेवारहरू त्यतातिर भेटिँदैनथे । कलेज पढ्दा मेरा धेरै नेवार साथीहरू थिए तर सबै सवर्ण । राजोपाध्याय र अमात्य, जोशी र श्रेष्ठ । तर साही र खड्गीसँग मेरो सम्पर्क थिएन । त्यसैले भूमिगतकालमा तिनै साही र खड्गीहरू मेरा आश्रयदाता भएका थिए । नेवारमा हिन्दू र बुद्ध धर्मालम्बी दुवै छन् । नेवार सधैं सत्तासँग जोडिएको जाति हो । बाहिरबाट आएका धेरै जातिसमूहहरू उपत्यका छिरेपछि नेवार भएका छन् । कायस्थ र झा पनि छन् नेवार समुदायमा । यी थर तराई क्षेत्रका हुन् । मैले रिमाल नेवार पनि भेटेको छु । यस्तो वर्णवादी समुदाय कसरी जनजाति हुनसक्छ ? अहिलेसम्म मैले बुझ्न सकेको छैन । भ्रममुक्त कुनै नेवार विद्वानले पछि यसको साङ्गोपाङ्गो इतिहास लेखिदिनु भए सबै नेपालीको ज्ञान बढ्ने थियो ।
नेपाली विद्वानहरूले छरेको अर्को भ्रम हो खसआर्य । अर्थात्, उनीहरूको विश्लेषणमा खस र आर्य एकै हुन् । योभन्दा ठूलो अज्ञान नेपालमा केही पनि छैन । नेपालका थोरै र भारतका धेरै विद्वानहरूले खस आर्यबीच आकास जमिनको फरक भएको ज्ञान पस्किएका छन् । ककेसियाबाट झण्डै छ हजार वर्ष पहिले एउटा समूह मानसरोवरको बाटो हुँदै जुम्ला झ¥यो । त्यसलाई नेपाली खस र त्यहाँको भूमिलाई खसान भनियो । यिनीहरूको कुनै धर्म थिएन । उनीहरू वर्षको एकपल्ट मस्टो पूजा गर्थे । मस्टो निराकार सत्य हो । आफ्नो फरक अस्तित्वलाई जनाउन उनीहरू वर्षको एकपल्ट गोठधूप गर्थे । यसलाई कुलपूजा पनि भनिन्छ । यो कुलपूजामा पनि कुनै देवी देवता हुँदैनन् । समूहमा भेला भएर, लोहोरोे जस्तो लाम्चो ढुंगाको पूजा गरेर उनीहरू कुलपूजा मनाउँछन् । किराँतसँगै यिनीहरूको नेपाल बसोबासको इतिहास पनि पाँच हजार वर्षभन्दा पुरानो छ । किराँत र खसहरूको नेपालमा उपस्थिति वैदिक कालभन्दा धेरै पुरानो छ । (पढ्नु होस्, खसजातिको इतिहास अनि खसजाति र कुलपूजा)
आर्यहरू इरानबाट पूर्वदक्षिण लागेका हुन् । सिन्धु घाँटीको उन्नत सभ्यतालाई पराजित गरेर दक्षिण लागेको समूह नै अहिलेका आर्य हुन् । इशाको पाँचौं शताब्दीमा आर्यहरू आफ्ना महागुरु शंकराचार्यसँग कैलाश दर्शन गर्दा पश्चिम नेपालको बाटो उत्तर लागे । शंकराचार्य आफ्नै पिठतिर फर्किए । तर बाठा आर्यहरूलाई नेपालको सुन्दर, शीतल, जडिबुटी र रसिला फलपूmलहरूले लोभ्यायो । युद्ध त उनीहरूको रगतमै थियो । आपूmभन्दा बलिष्ठ शक्तिलाई हराउने इन्द्रका सन्तानहरूले खस राज्य पटापट खाइदिए । खसहरू उनीहरूका लागि अनार्य थिए । शत्रु थिए ।
त्यसैले आर्यावर्त भन्ने शब्दले नेपाललाई वेष्टित गर्दैन । नेपालमा आर्य पनि छन् । अहिलेसम्म शक्तिशाली पनि छन् । राज्य गर्न राजाको सल्लाहकार या पुरोहित हुन सजिलो हुने भएकोले उनीहरूले आपूmलाई राजगुरुमा पदासिन गराउँदै राज्यको उपभोग गरे । यो परम्पराले सत्र शताब्दी खाइसकेको छ ।
आर्यहरूले नेपाल भित्रिँदासम्म एक डङ्गुर देवदेवीहरू जन्माइसकेका थिए । धर्मको आडमा शासन गर्न सजिलो हुन्छ भन्ने ज्ञान उनीहरूसँग थियो । भक्तिमार्गमा लाग्नेहरू स्वर्गमा बास पाउँछन् भन्ने शिक्षा यिनै आर्यजनले दिएका हुन् । हिन्दू धर्मका तेत्तीस कोटी देवता जन्माउने पनि यिनै आर्यपुरुष हुन् ।
चित्त नदुखोस् कसैको । सत्य तीतो हुन्छ । खसहरू ककेसियाबाट पूर्व लागेर जुम्ला छिरेका हुन् भने उपत्यकाबाट पूर्व खेदिएका किराँतहरू ह्वाङ्हो सभ्यताका उपज हुन् । बाँकी जनजातिका बारेमा लेख्नुपर्दा मलाई अलिक अप्ठेरो पनि लागेको छ । मगरहरू खस हुन् । नेपालमा सबैभन्दा लामो समय राज गर्ने समुदाय पनि मगर नै हो । तर, गुरुङ, तामाङजस्ता जातिहरू किराँतहरू आउनुभन्दा धेरै पछि, झण्डै झण्डै दक्षिणबाट नेपाल छिरेका आर्यहरूसँगै उत्तरबाट नेपाल छिरेका हुन् ।
मभन्दा बढी जान्नेबाट यसको खण्डन गरियोस् । संस्कृतमा एउटा भनाइ छ – वादे वादे जायते तìवबोध । अर्थात् छलफल गरेरै निष्कर्षमा पुगिन्छ । आग्रह र भक्तिले हामीलाई कहिल्यै निष्कर्षमा पु¥याउँदैनन् । खोजौं हाम्रा परम्पराहरू, वेद र मुन्धुमहरू, हामी सत्यमा नपुग्ने कुरै हुँदैन ।
मैले लेखेको नै निष्कर्ष होइन । यसलाई खण्डन गर्ने काम होस् विद्वानहरूबाट । नेपाल भारतवर्षको अंग होइन । जतिबेला भारत थिएन, त्यतिबेला पनि नेपाल थियो भन्ने सत्य महाभारतले पनि पुष्टि गर्दछ । महाभारतमा गान्धार थियो जो अहिले अफगानिस्तानमा पर्दछ । कुरुक्षेत्र भारतभित्रै थियो होला तर नेपाल भन्ने राज्य त्यतिबेला पनि एउटा स्वतन्त्र र आत्मनिर्भर राज्य थियो । किराँत त्यो राज्यको शासक थियो ।
अर्थात् आर्य र खसहरू एकापसमा गाभिने जाति समुदाय होइनन् । यिनी एकआपसमा जुध्ने शत्रु समुदाय हुन् । यिनलाई एकैठाउँ मिसाउनु भनेको घाम र हावा एउटै हुन् भन्नुजस्तै हो ।
श्रोत