दैनिक पत्र https://www.dainikpatra.com/2019/06/16921/
अधिवक्ता बालकृष्ण चापागाईं
शुक्रबार, असार १३, २०७६, ३:५३
माधव अर्याल
हुन त म मगर होइन, तर मगर समुदायमा हुर्केको व्यक्ति पक्कै हुँ । मगर समुदायका विषयमा धेरै जानकार पनि छु जस्तो लाग्छ । मगरी भाषाको ज्ञान पनि अलि अलि छ । अझ धेरै ज्ञान लिने प्रयासमा छु । मगर साथीभाइ पनि धेरै थिए । त्यसैले होला मगर जातिका विषयमा ज्ञान लिइरहेको छु । कहिले मगरात र कहिले मगर भाषा र साहित्यका विषयमा केही न केही लेख्ने प्रयास पनि गरेको छु । मगरको पनि पूर्वेली (पाल्पा) को भाषाको ज्ञान छ । तर मध्यमा बोल्ने भन्दा केही फरक पनि लाग्छ । रुकुम, रोल्पातिर बोलिने खाम भाषा फरक हो । पाल्पाकै पश्चिम भेगका मगरले आफ्नो भाषा नै बुझ्दैनन् । तर पनि उनीहरु कतिपयले सिक्ने प्रयास गरेको पनि पाइन्छ । तर पूर्वका प्रायः ब्राम्हण, क्षेत्री, नेवार र अन्य सबै जातिले मगरी भाषा बोल्छन्, बुझ्छन् ।
विभिन्न पत्रपत्रिका, अनलाइनका समाचार र गुगलको अध्ययन गर्दा गर्दै मलाई पनि मगर भाषा र साहित्यका विषयमा कलम चलाउन मन लाग्यो । यो कुनै पूर्णता लेख होइन । यसलाई कसैले पनि पूर्णता नमान्नु होला । यस लेखका विषयमा टिकाटिप्पणी गर्न पनि पाइन्छ । नकारात्मक भन्दा पनि सकारात्मक सुझावको अपेक्षा हो । कलम चलाउने प्रयास गर्दा गर्दै कहिले मगरात, कहिले मगर समुदाय, कतिपय अवस्थामा मगर संस्कृतिको पनि लेखि राखेकै हो । तर यस पटक भने मलाई मगर भाषा र साहित्यका विषयमा केही लेख्ने जमर्को गरेको हुँ ।
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् । त्यो धेरैलाई थाहा भएकै कुरा हो । पाल्पा जिल्लादेखि पश्चिम भेगका (पाल्पाबाहेक) रुकुम, रोल्पा लगायत आठार मगरात क्षेत्रका मगरले खाम(पाङ) बोल्ने गर्छन् । त्यताबाट आएका मगरहरुसँग कुरा गरेको मैले केही पनि बुझिन । प्रायः मजदुरहरुसँग यस विषयमा कुरा पनि भए तर भाषा बुझ्न सकिएन । अझ एक जना साथीले डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्दा रहेछन् । त्यो भाषा झनै अप्ठेरो छ । बोलेको नै बुझिएन । खासैमा मेसो पनि पाइएन । जसले गर्दा त्यस्ता भाषा पनि रहेछ भन्ने अवस्था आयो ।
कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् । भनिन्छ, उहिले भुरे टाकुरे राज्यका बेलामा त्यस्ता कुरा आएका हुन् । उनीहरुलाई दबाब दिएर बोल्न दिइएन भन्ने पनि छ । तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ । म्याग्दी (सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन् । म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन् । ‘म्हृयाक’ बिर्सनु र ‘डी’ भनेको पानी हो । त्यसैलाई अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हो भनिन्छ । मीराङ डीको अर्थ ‘मीराङ’ भनेको मूल्य र ‘डी’ भनेको पानी हो । सायद त्यस समयमा त्यस पानी मूल्यवान थियो होला । त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) बिर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आाफ्नो भाषामा नामाकरण गरेको हुन सक्छ । पाल्पा, गुल्मी, स्याङ्जाका धेरै स्थान, खोलाको नाम नै मगरभाषबाट छ । स्याङ्जामा ‘मै’ ‘डी’ आमा, पानी भन्दै मैदी खोला छ । पाल्पामा ‘निस’ ‘डी’ भन्दै दुई खोलाको पानी मिसिएकोलाई निस्दी भएको छ । ‘जाप्च’ ‘डी’ मिठो पानी अर्थात् अहिले जब्गादी भएको छ । यस्ता उदाहरण थुप्रै छन् । त्यसका विषयमा स्याङ्जा र पाल्पाका पूर्वभेगमा डुल्ने हो भने धेरै जसो नाम मगर भाषाबाटै राखिएको पाइन्छ ।
२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ हो । त्यसमा ७ दशमलव १२ प्रतिशत मगर जाति छन् । अर्थात् १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या रहेको देखिएको छ । जनगणना अनुसार तेस्रो जातिका रुपमा मगरलाई चिनिन्छ । मगर भन्दा धेरै क्षेत्री र ब्राम्हण छन् भने त्यसपछिको जनसंख्या थारुको रहेको छ । जसले गर्दा मगरको क्षेत्र, बसोबास गर्ने थलो पनि धेरै नै भएको पुष्टि हुन्छ । मगरको भाषाकै कुरा गर्ने हो भने फरकफरक तथ्यांक छ । तर नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १ सय ४३ भाषा रहेको दाबी गर्दै आएको छ । जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको छ । कतिपय भाषा लोपोन्मूख अवस्थामा पुगेका छन् । मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ । कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो । मगर भाषाको जनसंख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ भन्नेहरु धेरै छन् । विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही बृद्धि भएको छ । तर अझै पनि चेतनाको अभाव यथावत नै छ ।
मगर भाषा साहित्यको प्रारम्भ काल २०१२÷१४ सालतिर हो । त्यतिबेला मगर समाज सुधार समिति निर्माण भएको थियो । २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगर उदाए । उनीहरुद्वारा ‘मगर भाषाङ लहीङ र टुक्काउ किताब’ ‘मगर कुराङ प्रिय टुक्का ल्हिङ’ प्रकाशित गर्न सफल भएको इतिहासमा पाइन्छ । अध्ययन गर्दै जाने हो भने त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको ‘मगर कुरा कुटजाटम ङाक्के’ नामक पुस्तक प्रकाशित भएको छ । हुन त २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा ‘सेहेचलामाङ हवाइङ’ प्रकाशित भएको पाइन्छ । यसरी मगर साहित्यको पनि पहिला नै विकास भएको थियो । मगरहरु सोझा हुन्छन् । यिनीहरु पढ्ने भन्दा लाहुरे हुने संस्कृति बढी विश्वास गर्छन् भन्ने पनि नभएका होइनन् ।
मगर भाषा साहित्यमा त्यति बेला त्यही पत्रिकाबाटै बिट मारेको अवस्था रहेको हो कि भन्ने पनि छ । मगर जातिले बोल्ने भाषा मध्ये ढुट भाषामा धेरै साहित्यको लेखन कार्य भएको पाइएको छ । हुन त अठार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको खासै यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन । यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो । त्यस बेला नै मगर भाषाबाट पुस्तक, साहित्य सुरु भएका हुन् ।
मगर भाषा र साहित्यका जानकारहरुका अनुसार २०३९ सालबाट मगर भाषा साहित्य सुस्ताएको थियो । प्रजातन्त्रको पुनःबहालीपछि २०४९ सालमा केही पुस्तक प्रकाशन भएको पाइन्छ । तर खासै बजारमा किन्न पाइएको छैन । त्यस पछि पुनः अगाडि बढेको देखिन्छ । खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका हुन् । यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिंजाली मगरको जीवनी प्रकाशनमा आयो । त्यसपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो । बैरागी नाता मगरको ‘छीनीकूङ पु्रङ’ कविता संग्रह २०४८ र ‘मोइओ मीराप’ खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो भन्ने गरिन्छ । यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ । २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइन्छ । २०४८ सालमै झुस्या मगरको ‘रङ्सीचकूङ लरहीङ’ प्रकाशन भएको पाइन्छ । त्यसै वर्ष शिवलाल थापामगरको ‘ग्याहोट लख छान्नी’ प्रकाशन भएको थियो । २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा ‘कोन्जा मोरुम’ साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको थियो । जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका थिए ।
मगर भाषामा कविता संग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा बैरागी नाता मगर (तनहुँ) ‘छीनीकूङ पूरररुङ’ (आजको कोपिला) २०४८, मोइओ मीराप–आमाको रोदन (२०४९), लीस–देश (२०६१, खड्क आलेमगर सेन टाहाके ? (कहिले पुग्ने), रुद्र हितान मगर (कास्की)’ लाङ्घाके आररमेट्नाङ’ (गाउँलाई सम्झँदा (२०५०) स्व. रेखबहादुर थापामगर (नवलपरासी)’ फन्च ठलरके’ (जन्मभूमिको–२०५१) सन्तोष बुढामगर ‘मोई’ (आमा (२०५३) सन्जोग लाफामगर (उदयपुर)’जीव–सीम’ (बाँचेर मर्नु–२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) ‘बीकोलेसा’ (दुख्दो रहेछ–२०६५) झुस्यामगर (स्याङरजा) बुढा ईम (बुढो घर–२०५७) उजीर रानामगरको ‘माम्याक्नी’ (नबिर्स–२०५८) र ए डाजे डईको (ए दाजु दिदीहरू–२०६४) उमेश थापा हीस्की ‘लाटो’ मगर (रूपन्देही) ‘’उमेसओ सीरजनाको’ (उमेशको सिर्जनाहरू–२०६१) जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) ‘लरहेसरम राहानाङ’ (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) ‘जीहरच ङऊ लीस’ (तड्पिएको मेरो देश–२०६३) पूर्ण थापामगर’ ङा मगर’ म मगर २०६४–तनहूँ), मेकबहादुर पुनमगर रूपन्देही ’भड्कोड्चको’ (बाँच्न चाहनेहरू(२०६४) कवियत्री मनु ठाडामगर (धनकुटा) ’काटलीसार’ (एउटा कोपिला–२०६४), सहीडकूङ मानाम (सहिदको सपना(२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) ’मीकडीयाङ फोररझोच रीकरमा’ (आँसुमा उफ्रिएको कलम(२०६४) नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति ललितपुरले २०५३ सालदेखि आफ्नो वाषिर्क उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ ।
मगर भाषामा कविताहरूको सँगालो वैरागी नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा ’मगर रीलरहीङ गोमक’ मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ । जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्गृहित गरी पाहुर (कोसेली(२०६३) प्रकाशित गरिएको छ। खामपाङ मगर भाषामा रोल्पाका जीवन रोकामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काइके मगर भाषामा कविता सङरग्रह प्रकाशित भएको छैन । त्यसका अलावा २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता सङरग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छ । रूपन्देहीका मेजन पुनमगरको भटकोसरचको कवितासङ्ग्रहमा गरिएको मगर खामपाङले मगर खामपाङमा लेख्न हौस्याएको छ ।
खामपाङमा रोल्पाको नवीन रोकामगरद्वारा लिखित वकी (मगर जातिको ऐतिहासिक भूमि) कविता सङ्ग्रह प्रकाशोन्मूख अवस्थामा रहेको छ । मगरहरूको समारोहमा फाट्टफुट्टरूपमा डोल्पाकी टीना रोकामगरले काईकेमा कविता वाचन गरेर काइकेको प्रतितिधित्व जनाएवाहेक खासै कविताहरू लेखिएको छैन ।
मगर खामपाङ र मगर काइकेभन्दा मगर ढुटमा साहित्यक लेखन सङ्ख्यात्मक रूपमा अगाडि देखिए पनि मगर जातिको सङख्याको दृष्टिकोणले मगर भाषा साहित्यको अवस्था नाजुक नै रहेको छ । विगतको तुलनामा मगर भाषा साहित्यमा मगर ढुटमा लेख्ने मगर भाषी साहित्यकारको उपस्थिति उत्साहजनक देखिए पनि मगर काइके र मगर खामपाङ भाषा साहित्यलाई कसरी सँगै डो¥याउन सकिन्छ गम्भीर चिन्ताको विषय बनेको छ। गर भाषामा बालबालिकाको निमित्त भनेर बालकवितासङ्ग्रह लेखेर प्रकाशित गरिएको छैन । वैरागी नाता मगरले ‘लीस’ मगर भाषाको कविता सङ्ग्रहमा तीनवटा बच्चालाई गीत गाउँदै भुलाउने बालगीतलाई समावेश गरेको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा मगर भाषाको पाठरयपुस्तक कानङ मगर ढटमा अनुवाद गरिएका र केही बालकविता समावेश गरिएको छ । बालबालिकाको लागि नै फुटकर रूपमा कविता लेख्ने कविहरूमा हेमबहादुर थापामगर (रामेछाप), राजु दर्लामीमगर (रामेछाप), राकेश दर्लामीमगर (रामेछाप) रहेका छन्।
मगर भाषामा लिखित खण्डकाव्य संग्रह हालसम्म वैरागी नाता मगरद्वारा लिखित ‘मैयो मीराप’ (आमाको रोदन–२०४९) मात्र रहेको छ । शीर्षक मगर भाषा राखेर नेपालीमा शोषित मगर परिवारको कथावस्तुलाई आधार मानी लेखिएको ‘बोई’ (बाऊ) कवि रामचन्द्र भट्टराईले लेखेका छन् । त्यसमा मगर भाषाका केही शब्दलाई मात्र प्रयोग गरिएको छ । अठार मगरात क्षेत्रका खाम मगर र काइके मगर भाषामा खण्डकाव्य लेखिएको भेटिएको छैन । वैरागी नाता मगरको संयोजनमा ‘मगर ढटो ल्हीङ्’ (मगर भाषाको गीत) नै पहिलो गीति संग्रह भएको मानिन्छ । मगर भाषाको श्रव्य गीतितर्फ छविलाल चिदीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा ‘सेनिस है लाफाको’ (सुन्नुस् है साथीहरू) गीतिसङ्ग्रह पहिलो मानिन्छ ।
मगर भाषाको पहिलो चलचित्र ‘लङ्घन’ (प्रयास) को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी ‘लङ्घन’ गीति संग्रहको रूपमा प्रकाशित गरिएको छ । गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सिडीसहितको ‘रोहसार’ (प्रेमफूल), बुद्ध भगवानको स्मृतिमा आधारित मनु थापामगरको संयोजनमा ‘बुद्धऔँ चरणाङ’ (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको ‘जोडी भालेसा’ (जोडी छुटेछ) र दुर्गा रायमाझीको संयोजनमा ‘भर्महरवाच ग्वाजा’ (उडिरहने चरी) गीति एल्बम रहेको छ । पछिल्लो मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको ‘लाङघौ रोह’(गाउँको माया–२०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ ।
मगर भाषामा गीत लेखी रेकर्डिङ गरी समाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मूख हुन थाल्नुले गीत–सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ । मगर खाम–पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ । मगर काइके भाषामा गीत रेकर्डिङ गरिएको छैन भनिन्छ । खाम–पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छैन । सङरगीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झार्मया (२०६५) बजारमा आयो । उजीर रानामगरको मगरढूटमा गीति एल्बम ल्याएका छन् । यम पुलामीको मजुङ्ग भर्मी (असल मान्छे) फिल्म बनाए । अहिलेसम्म करिब ५० जति मगर फिल्म बनिसकेका छन् । यस्तै झन्डै २५ वटा डकुमेन्ट्री छन् । तीमध्ये झन्डै ३० वटा फिल्म संघमा दर्ता भएका छन् । पछिल्लो समयमा मगर भाषा नरहेपनि मगर संस्कृति, परम्परा झल्किने फिल्महरु बन्ने क्रम जारी नै छ । यी पनि भाषा, साहित्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
सन्दर्भ सामाग्री ः वेवसाइटका साथै विभिन्न समयमा विभिन्न व्यक्तित्वहरूद्वारा प्रस्तुत कार्यपत्रहरू