मित्रसेनको घर धर्मशाला भाग्सु

मित्रसेन थापा

नइ प्रकाशन

http://nai.com.np/contents.php?id=302

मित्रसेन थापा भन्नु नेपाली साहित्य, सङ्गीत र संस्कृतिका धरोहरको नाउँ हो । चाहे नेपाली आधुनिक गीतलाई होस्, चाहे नेपाली लोकगीतलाई होस् अनि चाहे भजनलाई नै होस् मीठा शब्द कुँदेर, लोकपाराको धून कायम गरेर र सुललित स्वर जोडेर मित्रसेनले आफ्नो युगमा एउटा विशाल सांस्कृतिक मञ्चको स्थापना गरेका थिए । कुनैकुनै युगमा एउटा मान्छेले त्यस युगको प्रतिनिधित्व गर्छ भन्ने कुराको प्रमाण मित्रसेन थापा नै थिए । 

मित्रसेनले नेपाल नदेखी नेपालको जयगान गाएका थिए । नेपाली सङ्गीतजगत्का वीरपुरुष मित्रसेनको जन्म संवत् १९५२ सालमा भारतको हिमाञ्चल प्रदेशको भाग्सु तोतारानीछेउ छाउनी धाराखोलामा भएको थियो । हवल्दार मानवीरसेन थापा मगर र राधा थापाका उनी एउटै सन्तान थिए । मित्रसेन जन्मँदा पनि उनका बाबु फर्स्ट गोरखा राइफल्समा कार्यरत थिए । मानवीरसेन थापा गीत र सङ्गीतका पारखी थिए । त्यसैले मित्रसेनलाई तोतेबोलीदेखि स्कुल पढ्दासम्म पनि गीतसङ्गीतमा लाग्ने एउटा फराकिलो बाटो निर्माण भएको थियो । उनी पढ्दै गीत गाउँदै गर्थे । आर्थिक असम्पन्नताका कारण थापालाई स्कुल गएर पढ्न परिस्थितिले त्यति साथ दिएन । घरको दयनीय आर्थिक अवस्थाले उनलाई सेनाभित्रै कैद गराउने मेलोमेसो बनाउन थालेको थियो । त्यसैले म्याट्रिक दिनुभन्दा दुई वर्षअगावै उनी आफ्ना बाबुकै पेसामा सरिक भए ।

मित्रसेन सोह्र वर्षलाग्दानलाग्दै उनको विवाह कलावती थापासँग भयो । आफ्नी किशोरी पत्नीसँग रहरलाग्दो मधुमासमा लहसिन पाउँदा नपाउँदै उनी सेनाको तालिममा गाँसिन पुगे । उनी सेनामा आबद्ध भएको तीन वर्षलाग्दानलाग्दै प्रथम विश्वयुद्धको शङ्खनाद भयो । चार वर्षम्म उनी पनि त्यही लडाइँमा लडे । अन्ततः आफूभित्रको मानवतावादी भावनालाई उनले बन्दुकको बारुदबाट छुटकारा गराउन चाहे । त्यसैले उनी सात वर्षम्मको कठोर सैनिक सेवाबाट अनेक उपाय रची बिदा भए ।

मित्रसेन सैनिक सेवाबाट अवकाश लिई घर आए । घरमा उनकी आमाको एउटा सानो पसल थियो । त्यस पसलले उनीहरूका परिवारलाई खानलाउन धौधौ पथ्र्यो । त्यसपछि सेनाको क्यान्टिन चलाउँदै उनी गीतसङ् गीतमा नै सरिक भए । आफ्नो घरपरिवार, छोराछोरी, गीतसङ्गीत र साहित्यिक रचनाले त्यतिखेर मित्रसेनलाई अर्कै जुनी प्राप्त भएको अनुभूति भएको थियो । उनकी श्रीमती, उनका दुई छोरीहरू लुरी र काला अनि एउटा छोरा काकुमाझ उनको जीवन सङ्गीतकै उज्यालो आकाशमा खेल्न थाल्यो । त्यतिखेर उनको सङ्गीत सुनेर उनका परिवार, आफन्त र गाउँले उनीप्रति नतमस्तक हुन्थे । वास्तवमा लाहुरे जीवनका कथाव्यथामा आधारित गीत गाउन थालेपछि उनका अघि र पछि सङ्गीतपारखीको ताँती नै लाग्थ्यो । त्यतिखेर उनी झन् चम्कीचम्की गीत गाउने गर्थे :

लाहुरेको रेलीमै फेसनै राम्रो

रातो रुमाल रेलीमै खुकुरी भिरेको ।

मित्रसेन साहित्य र सङ्गीतलाई एउटा संस्थागत स्वरूप दिएर जनसहभागिता जुटाउन पनि क्रियाशील थिए । परिणामस्वरूप उनकै नेतृत्वमा ‘हिमालयन थियट्रिकल कम्पनी’को पनि स्थापना भयो । त्यस संस्थामा उनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरू पनि प्ररदर्शन भए । यसै कम्पनीमार्फ उनले अनगिन्ती नेपाली गीतहरू पनि गाए । त्यसै बेलाको ख्याति पनि जोडिएर सबैले उनलाई मास्टर भन्न थाले । केही वर्षम्म गीतसङ्गीतमा क्रियाशील भएपछि उनी नेपालीहरू भएका भारतका अन्य ठाउँमा पनि गए । यसै क्रममा उनी १९९० सालमा नेपाल आए ।

मित्रसेनको पुख्र्यौली पर्वत जिल्लास्थित राखुखोला नै थियो । यिनका बाजे सुन्द्रु थापा मगर पनि सेनामा थिए । सुन्द्रु थापा युद्धताका काँगडा किल्लाभित्र परेका हुँदा त्यतिखेरदेखि नै यिनीहरू स्वतः भारतीय भूभागमा पर्न गएका थिए । त्यसैले सुन्द्रु थापाका नाति मित्रसेन भारतमै जन्मन पुगेका थिए ।

मित्रसेनले जुन दिन नेपाली माटोमा आफ्नो पाइला टेके त्यस दिन उनले र्सवप्रथम आफ्नो पितृभूमिको माटो टिपेर निधारमा टीका लगाए ।

मित्रसेन झर्रो नेपाली बोल्थे, त्यस्तै गाउँथे र त्यस्तै लाउँथे । उनी साँच्चै पर्वतकै लाहुरेजस्तै थिए । नेपालमा आएर पनि उनी सांस्कृतिक मञ्चनमा लागे । उनले नाटक, गीत र सङ्गीतबाट नेपालीहरूलाई आफ्नै भावनामा बेर्न थाले । नेपालमा उनका प्रशंसकको त्यत्तिकै ताँती लाग्न थाल्यो । नेपाली साहित्याकाशका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल, नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि मित्रसेनको साहित्य र सङ्गीतबाट आहृलादित भएका थिए ।

मित्रसेनले नेपाली भेष, नेपाली भूषा र नेपाली भाषामा आफूलाई पूर्ण रूपमा समाहित गराए । । नेपाल पसेदेखि उनले सधैँ दौरासुरुवाल र बिर्के टोपी मात्र लगाए । त्यसपछि भारत पस्ता पनि यही पोसाकमै उनको औपचारिक यात्रा प्रारम्भ हुन्थ्यो । उनको नेपालप्रतिको झुकाव देखेर हिमाञ्चल प्रदेशका बासिन्दा छक्क पर्थे । त्यहाँस्थित नेपाली टोपीहरू मित्रसेनबाट गदगद हुन्थे ।

मास्टर मित्रसेनले जति बेला एउटा फूलको कोपिलाझैँ स्वच्छ जीवन बाँच्न चाहे, त्यतिखेर उनको घरसंसारमा आगो लाग्न आँटेको थियो । उनी सेनाजस्तो कठोर जीवन छाडेर नौनीघ्यूजस्तो जिन्दगी बिताउन घरमा आउँदा त्यहाँ एउटा राक्षसी नियति पस्नपस्न आँटेको थियो । एउटा सुन्दर र शान्त पारिवारिक जीवन धान्न अनेक कसरत गरी सेनाबाट छुट्टिएर स्वर्ग जस्तो घर आउँदा त्यहाँ एक्कै चोटि उनको जीवन इँटाभट्टीको भतभत पोल्ने रापमा पसेसरि हुन आँटेको थियो । कुरा के हो भने उनी सेनाबाट फर्केको चार वर्ष बित्तानबित्तै उनकी श्रीमती र तीनजना सन्तानलाई हैजाले लग्यो । त्यस क्रूर, पापी र अन्यायी घटनाले उनी रित्तो भए, उनी एक्लो भए र उनी परिवारविहीन भए । त्यतिबेला उनी धुरुधुरु रोए । त्यो अकल्पनीय घटनाले उनी आफ्नी बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुन्थे ।

आमाछोरा मात्रको संसारले मित्रसेनको घर उज्यालो हुन सकेन । त्यस घडी घरमा आमा र छोरा मात्र धुम्धुम्ती बस्ने गर्थे । मित्रसेनले बैरागी जीवन भोगिरहेको बेहोरा उनका परिचितहरूका आँखाबाट पनि लुक्न सकेन । त्यसैले उनकी आमा र आफन्तहरूको ढिपी र करबलले मित्रसेनले फेरि ३० वर्षो उमेरमा बिहे गरे । त्यतिखेर उनकी पत्नी लाजवन्ती बीस वर्षी थिइन् ।

बिहे भएको दुई वर्षमा मित्रसेन र लाजवन्तीबाट एउटा छोरो जन्म्यो, उसको नाउँ दिग्विजयसेन थापा राखियो । छोरो जन्मेको केही वर्षपछि थापा फेरि गायन भ्रमणमा लागे । भ्रमणदलमा उनकी आमा, श्रीमती र छोरा हुन्थे । उनीहरू जहाँ गए पनि छुट्टिदैनथे । धेरै दिन, धेरै महिना र धेरै वर्षगीत गाउँदै उनीहरू चारचौरास हिँडे । अन्ततः मित्रसेनको टोली नेपाली गीत गाएर आफ्नै घर हिमाञ्चल प्रदेशमा नै फक्र्यो । घरमा पुगेपछि उनी फेरि तीन छक्क परे । किनभने त्यतिखेरसम्ममा उनको घरको छाना पनि झरामझुरुम भइसकेको थियो । वास्तवमा गीतको सुरमा उनले आफ्नो घरबारी नै बिर्सेका थिए ।

मित्रसेन आफ्नो घर नै लथालिङ्ग भएको देखेर झनै दुखित भए । तर पनि छयासी वर्षीय बूढी आमा, चालीस वर्षीय तरुनी स्वास्नी र बीस वर्षीय जवान छोराको प्राण धान्नका लागि उनी दूध र सिध्रा बेच्न थाले । त्यो काम थालेको पन्ध्र दिन लाग्न नपाउँदै उनी स्वर्गीय भए । २००२ सालमा नेपाली गीतसङ्गीतका एउटा वरिष्ठ संवाहक मित्रसेनलाई संसारले उम्कायो ।