चीन तिब्बत र नेपाल

आचार्य, बाबुराम. (२०७४). चीन तिब्बत र नेपाल. काठमाण्डुः फाइन प्रिन्ट बुक्स । टिप्पणीः डा. गोविन्द प्रसाद थापा

यो पुस्तक सात अध्यायमा विभक्त छ । पहिलो अध्याय प्राथमिक परिचय, दोस्रो अध्याय आपसमा शान्त सम्बन्ध, तेस्रो अध्याय नेपालमा भएका राजनीतिक हलचलहरू, चौथो अध्याय तिब्बतसँगको सामान्य विवाद र सम्झौता, पाँचौ अध्याय चीन पनि विवादमा उत्रियो, छैठौं अध्याय चीनसँग सुलह समझौता सम्पन्न भएपछि र सातौं अध्याय प्रजातान्त्रिक प्रणालीतर्फ रहेका छन् । नेपालको नामकरणका बारेमा लेखक लेख्छन्, “यस देशका निमित्त ‘नेपाल’ भन्ने देशको नामकरण पनि इतिहासकालको प्रारम्भमै भएको स्पष्ट रुपमा देखिन्छ । यस उपत्यका आदिम मूल निवासीका उत्तराधिकारीहरू अझै पनि आफूलाई ‘नेवा’ वा ‘नेवार’हरूका रूपमा गर्व गर्ने गर्दछन् । ….यसबाट ‘नेपाल’, ‘नेवार’ र ‘नेर्वा’ शब्दहरू एउटै मूल शब्दबाट विकसित भएर भिन्नभिन्न अर्थमा प्रयोग हुदै आएका देखिन्छन् । भाषागत प्रवृतिलाई विचार गर्दा उपयुक्त तिनै शब्दहरूको मूल रुप ‘नेपार’शब्द भएको झलक पाइन्छ । भाषाहरूको स्वभाविक प्रवृति अनुसार जातिवाचक यही ‘नेपार’शब्द नै पछि विकृत भई पहिले ‘नेआर’ भई पछि बाट ‘नेवा’ भएको र ‘नेवा’ वा ‘नेआर’लाई नै पछि यस क्षेत्रमा आवाद हुन आइपुगेका नवआगन्तुक खस आर्यहरूले ‘नेवार’ भन्ने गरेको देखिन आएको छ ।…..भाषागत यसै प्रवृतिअनुसार मगध देशका निवासीहरूले जातिवाचक ‘नेपार’ शब्दलाई पहिलेदेखि नै ‘नेपाल’ भनेर भन्ने गरेको आभास पाइन्छ ।” लेखकका अनुसार ‘नेपार’ शब्द बाट नै ‘नेपाल’ भएको भनि मानेका छन् (पृ.२–३) । लेखक अगाडि लेख्नु हुन्छ, “…नेपालमा रहेका यहाँका आदिम मूलनिवासी नेवारहरू पनि किराँत जातिकै एक शाखाका रूपमा विकसित भएर रहेका थिए भन्ने प्रमाणित हुन आएको छ ।…..नेपार वा नेवारहरूजस्तै मगर, गुरुङ, तामाङ, खम्बू, र लिम्बूहरू पनि किराँत जातिकै अवान्तर भेद मानिन्छन् ।” पृ. ३–४

आचार्य, बाबुराम. (२०६० आषाढ १५ गते). अब यस्तो कहिल्यै नहोस्. अन्तर्राष्ट्रिय मञ्च छापाखानाः श्रीकृष्ण आचार्य. पृ. २१ । टिप्पणीः डा. गोविन्द प्रसाद थापा

वि. सं. १८५४ को आश्विन शुक्ल द्वादशी (आश्विन १९ गते तदनुसार १ अक्टोबर इ.सं. १७९७) मा महारानी कान्तवतीको गर्भबाट राजकुमारको जन्म भयो र यिनको नाम “गीर्वाणयुद्ध” राखियो । वाचा–बन्धन अनुसार यिनी राजाका उत्तराधिकारी एवं युवराजाधिराज समेत घोषित गरिए । गोरखाको शाह राजवंशले यतिञ्जेलसम्म आफ्नो वंशलाई सोमवंशी क्षत्रीय कुल मान्दै आएको थियो, तर यसै समयमा नजाने किन यसले आफनो वंशलाई उज्जैनको परमार वंश स्वीकार गरेकोले बालक युवराजको नामको पछाडी “विक्रम” भन्ने उपाधि जोडियो र यस पछि राजपरिवारका सबै पुरुष सदस्यहरूको नामको पछाडि “विक्रम” भन्ने उपाधि जोडने परम्परा नै बस्न गयो । यसै अनुसार युवराजको पूरा नाम “गीर्वाणयुद्धविक्रम शाह” कायम हुन आयो ।

Contact Us
Please enable JavaScript in your browser to complete this form.