मास्टर मित्रसेनका ४३ वटा पाण्डुलिपि

मास्टर मित्रसेनका ४३ वटा पाण्डुलिपि सम्हालेर राखेका छौं : अध्यक्ष नेपाली

भारत र नेपाल सरकारले छुट्टाछुट्टै मास्टर मित्रसेनको तस्बिर अंकित हुलाक टिकट प्रकाशित गरेका छन्

https://ekantipur.com/news/2021/01/05/160983438919826947.html

पुस २१, २०७७गणेश राई

काठमाडौँ — ‘लाहुरेको रेलिमाई फेसनै राम्रो..’, ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले..’ जस्ता कालजयी गीत नै मास्टर मित्रसेनलाई सम्झाउने सिर्जना हुन् । नेपाली गीत संगीतका अजर अमर स्रष्टा मास्टर मित्रसेन सम्झिने क्रम जारी छ । उनै मास्टर मित्रसेनको १२५औं जन्मजयन्ती भर्चुअल प्रविधिबाट अन्तर्राष्ट्रिय रूपमा परिचर्चा भएको छ । 

विश्व नेपाली साहित्य महासंघ साउथ युकेले मित्रसेन स्मृति अन्तरर्क्रियाको आयोजना गरेको हो । अन्तरर्क्रियामा नेपाल, भारत, बेलायत, मास्को लगायत मुलुकबाट सहभागिता रहेको थियो ।

मास्टर मित्रसेन थापा सन् १८९५ डिसेम्बर २९ मा भारतको हिमाचल प्रदेशको काँगडा जिल्लाको सदरमुकाम भागसु धर्मशाला तोतारानीमा भएको थियो । मित्रसेनको पुर्ख्यौली म्याग्दी जिल्लाको राखुखोला थियो । बाजे सुन्द्रु थापा मगर भारतीय सेना थिए । बाबु मनबीरसेन थापा मगर पनि भारतीय सेना थिए । त्यसैले मित्रसेन भारतमा जन्मिएका थिए । त्यसैले उनको स्थायी बसोबास भारतमै हुनपुग्यो ।

उनको योगदानलाई लिएर भारत सरकार र नेपाल सरकारले छुट्टाछुट्टै मास्टर मित्रसेनको तस्बिर अंकित हुलाक टिकट प्रकाशित गरेका छन् । उनको सम्झनामा गठित हिमाञ्चल प्रदेश भाग्सु धरमशालामा मास्टर मित्रसेन साहित्य संगीत सभा रहेको छ भने नेपालमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडाैं रहेको छ । यो वर्ष (सन् २०२०)मा दार्जिलिङमा मित्रसेनको सालिक अनावरण भएको छ ।

गुवाहटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्माले उनै मास्टर मित्रसेन थापामाथि विद्यावारिधि उपाधि हासिल गरेका छन् । उनै शर्माको शोधग्रन्थ ‘नेपाली संगीतका भानुभक्त मास्टर मित्रसेन’ कृति प्रकाशित छ ।

मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोकसिं थापा मगरको शब्दमा नेपाल र भारतबीच समन्वय गरेर एकीकृत रूपमा मित्रसेनको योगदान कार्य हुनसकेको छैन । ‘संगीतको कुनै सीमा, कुनै राष्ट्रको साँध हुँदैन र यसलाई फैलाउन कुनै पासपोर्ट पनि चाहिँदैन,’ प्रतिष्ठानका अध्यक्ष मगरले भने, ‘त्यसैले मास्टर मित्रसेनले नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न सकेका हुन् । तर हामीले मास्टर मित्रसेनको योगदानबारे पर्याप्त काम गर्न सकेका छैनौं ।’ प्रतिष्ठानले मित्रसेनको स्मृतिग्रन्थ प्रकाशन, सालिक निर्माण गरेको जनाइएको छ ।

स्थलगत अध्ययन अनुसन्धान गरेका प्राध्यापक शर्माका अनुसार मास्टर मित्रसेन ३२ वटा ग्रामोफोन रेकर्ड भएका छन् । १४ नेपाली, हिन्दी र उर्दू भाषामा नाटक प्रकाशित छन् । उनका अझै अप्रकाशित रचनाहरू छन् । उनका गीति रेकर्डहरू अल इण्डिया रेडियो र कलकत्ता रेडियो स्टेसनमा सबभन्दा बढी रेकर्डहरू छन् । ‘त्यसलाई एकीकृत रूपमा प्रकाशन गर्ने काम नेपाललै मात्रै सक्दैन,’ मित्रसेन बारेमा क्रमशः जानकारी बाहिर आएको उल्लेख गर्दै प्रतिष्ठानका अध्यक्ष मगरले भने, ‘भारतमा रहेका सम्बन्धित संस्थासँग संयुक्त पहल हुनुपर्छ । उहाँका गीतमात्रै होइन, समग्र योगदानको खोजी र प्रकाशमा ल्याउन जरुरी छ ।’

भाग्सुस्थित मास्टर मित्रसेन साहित्य संगीत सभाकी अध्यक्ष साधना नेपाली मित्रसेनकै समाधि नजिक उनको योगदानको खोजी जारी राखेको बताइन् । ‘हामी सबै जातको मिलेर उहााको योगदानको खोजी गर्दैछौं,’ उनले भनिन्, ‘तोतारानी भाग्सुमा मास्टर मित्रसेनको सानो संग्रहालय रहेको छ । यसलाई मास्टर मित्रसेन झुप्रो भनेका छौं, जुन जर्जर अवस्थामा छ । सन्ततीका निम्ति बचाउन आवश्यक भएको छ । गीत, नृत्य, संगीतका पचासौं पाण्डुलिपिहरू छन् । अहिले ४३ वटा पाण्डुलिपि हामीले सम्हाले राखेका छौं ।’ ती पाण्डुलिपि भजन, लेख, निबन्ध, नाटक, कथा, गीतका रहेका छन् । मित्रसेन गायक, कवि, नाटककार, निबन्धकार, गीतकार, संगीतकारजस्ता बहुमुखी प्रतिभाका धनी रहेको उनले बताइन् ।

गुवाहटी विश्वविद्यालयका प्राध्यापक शर्माको ठम्याइमा मित्रसने नेपाली आधुनिक गीतको जनक हुन् । ‘२०औं शताब्दी पूर्वाद्धका एक किंवदन्ती पुरुष मित्रसेन थापा हुन्,’ मित्रसेनका परिवारमा नातानातिना रहेको र उन सांगीतिक बौद्धिक सम्पत्तिका उत्तराधिकारी मान्नु पर्ने उल्लेख गर्दै शर्माले भने, ‘भारतको संगीत जगतका व्यक्तित्व भारतरत्न डा. भुपेन हजारिकासँग मित्रसेनको तुलनात्मक अध्ययन हुन सक्छ ।’ मित्रसेन ब्रिटिस इण्डियाको सेनामा जागिरे जीवन छाडेर गायनमा लागेका थिए । असम सरकारको कक्षा १० को नेपाली पाठ्यक्रममा मास्टर मित्रसेनबारे पठनपाठन गराउँदै आएको छ ।

स्मृति अन्तरक्रियामा नेपाल, भारत र बेलायतका कलाकारले मास्टर मित्रसेनका गीत र संगीत प्रस्तुत गरेका थिए । बेलायतमा रहेका थिर थापाले मित्रसेनकृत ‘लाहुरेको रेलिमाई’ पुरुष सम्बोधन रहेको गीतलाई ‘लाहुरेनीको रेलिमाई फेसनै राम्रो, रातो रिबन रेलिमाई क्या चुल्ठो बाटेको..’ सोही भाकामा गाएका थिए । उक्त गीतको रचना आयोजक संस्थाका अध्यक्ष विजय हितानले गरेका हुन् ।

त्यसैगरी बुटवलबाट मिन रानाले सारंगीमा ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’ गाएका थिए भने वीरबहादुर गाहा मगर ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले..’ गाए । दार्जिलिङबाट मनिष राना र समूहले मित्रसेनको ‘अर्पण’ एलबमको गीत प्रस्तुत गरेका थिए । अवतारी साइँलाले कविता र सुरेन्द्र इङनामले बाँसुरीवादन गरेका थिए ।

महासंघका अध्यक्ष हितानले ‘लाउरेको रेलिमाई’ उपन्यास तयार पारेको जनाएका छन् । महासंघका सचिव अमित याक्थुम्बा मिहाङ थेबेले मास्टर मित्रसेन जीवनी डकुमेन्ट्री निर्माण तयारीमा जुटेको जनाएका छन् । मास्कोबाट सहभागी अनुसन्धाता कृष्णप्रकाश श्रेष्ठले मित्रसेनले ग्रामोफोनको माध्यमबाट नेपाली गीतको प्रचार गरेको बताए । साथै, मित्रसेनको योगदानबारे रुसी भाषामा जानकारी गराएको जनाए ।

प्रकाशित : पुस २१, २०७७ १४:०३

Contact Us
Please enable JavaScript in your browser to complete this form.