मगर व्याकरण र शब्दकोश निर्माण
४ फाल्गुन २०७४
काठमाडौं – मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।
नयाँ व्यवस्थाअनुसार कुनै एक जाती विशेषको जनसंख्याको वर्चश्व रहेका स्थानमा मातृभाषामै सरकारी कामकाज गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । मातृभाषामा कुनै पनि समुदायको मौलिकता रहने भएकाले पनि यसको जगेर्ना गर्नु सामाजिक, ऐतिहासिक र सांस्कृतिक देष्टिले महत्वपूर्ण छ । यसै मेसेमा विभिन्न निकाय तथा व्यक्तिहरू भाषिक संरक्षणका लागि खटिएका छन् ।
सोही सन्दर्भमा बिहीबार राजधानीमा मगरभाषा व्याकरण तथा शब्दकोष निर्माणका लागि संवाद थालिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाललाई बहुजातीय र बहुभाषिक भनि स्वीकार गरिएको बताए । पञ्चायकालमै २०३३ सालमा रेडियो नेपालले पहिलोपल्ट विभिन्न भाषामा समाचार दिने व्यवस्था भएको उनले स्मरण गरे ।
‘भाषा पहिचानसँग सम्बन्धित भएकाले राजनीतिक कुरा पनि हो,’ उनले भने । अबको समय आफ्नो भाषालाई सक्षम बनाएर सम्पर्क भाषाका रूपमा अघि बढाउने समय रहेको उनले औंल्याए । बहुलताको अवसर समात्न मातृभाषा सक्षम नभए नेपाली भाषा प्रयोगको विकल्प नरहेको उनले टिप्पणी गरे । जसका लागि आफ्नो भाषा भनेर घुमिहिँड्नुभन्दा विज्ञसमूहको सहयोग लिएर भाषाको विकास गर्न उनले मगर समुदायलाई सुझाव दिए । कतिपय शब्दहरू नेपालीबाट मगर वा अन्य भाषामा रूपान्तरण गर्न शब्दहरू पर्याप्त नभएकाले अध्ययन अनुसन्धानको खाँचो रहेको उनले बताए ।
प्राध्यापक रामराज रेग्मीले भाषिक संरक्षणका लागि अनुसन्धान र व्याकरण निर्माणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अहिलेसम्म नेपालमा ९७ भाषाको मात्र सर्वेक्षण भएको जनाउँदै उनले भने, ‘भाषा सजीव विषय भएकाले समयअनुसार अगाडी बढ्दै जान्छ,’ उनले थपे, ‘त्यसमा पनि १ सय २५ जनजातीमध्ये जनसंख्याकै आधारमा तेस्रो तहमा रहेको मगर भाषाको थप अध्ययन अनुसन्धान आवश्यक छ ।’ नेपालको जनसंख्यामध्ये १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या मगरजातीको रहेको छ । जसमा पनि ८ लाख १५ हजार ७१३ जनसंख्या अर्थात ४३ प्रतिशतले मात्र मगरभाषा बोल्ने गरेको छन् ।
मगर भाषा आफैंमा सबल भाषा भए पनि नयाँ पुस्तामा मगर भाषा बोल्ने क्रम हराउँदै गएर नेपालीकरण हुँदै गएको चिन्ता रेग्मीले गरे । भाषा संरक्षण गर्ने एउटा बलियो माध्यम भनेको त्यसको व्याकरण र शब्दकोश निर्माण भएको बताउँदै उनले मगर भाषामा पनि तीन मुख्य भाषिका रहेको र मगर ढुट, खाम मगर र काइके भाषिकाको बारेमा चर्चा गरे ।‘भाषा सामान्यतया विचारको आदानप्रदान गर्ने साधन हो,’ रेग्मीले भने, ‘सबैभन्दा थोरै शब्द प्रयोग गरेर मिहिनभन्दा मिहिन विचार पोख्न सकिन्छ ।’
व्याकरण बने पनि त्यसको व्यवहारीकणमा समस्या रहेको प्रष्टयाए । समुदाय र व्यक्ति व्यक्तिमा भाषिक एकरूपता कायम गर्न अप्ठेरो रहेको उनले दाबी गरे । डा. दुबिनन्द ढकालले मगर भाषाको शब्दकोष निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले १२ भागमा विभाजन गरेर शब्दकोश निर्माणका लागि आवश्यकताहरू उजागर गरे ।
उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म बोलिने मगर भाषालाई एकै ठाउँमा सूचीकृत गरिएको छ । ‘भौगोलिक किसिमले ठूलो क्षेत्र ओगट्ने भाषामा क्षेत्रीय भेद हुने हुनाले ती भेदलाई शब्दकोशमा कसरी समावेश गर्ने भन्ने विषय जटिल रहेको छ,’ उनले औंल्याए, ‘पुराना सन्दर्भग्रन्थ, भाषिक व्याकरण र शब्दकोशको तारतम्य मिल्नुपर्छ ।’
त्यस्तैगरी कम्युटरमा प्रविधिकरण गर्नका लागि पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्रविष्टी र परिभाषाको उदाहरणहरू उस्तै राख्नुपर्ने, समानार्थी र विपरीतार्थी शब्दको संयोजन पनि एकै ठाउँमा शब्दकोषमा राख्न सकिने उनले बताए ।
कार्यपत्रमाथि लोकबहादुर थापा र विष्णुकुमार सिञ्जालीले टिप्पणी गरेका थिए । मगर अध्ययन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद थापाले मगर भाषा नेपालको बहुसंख्यक जनजातीको भाषा भएकाले यसको प्राज्ञिक विकासमा कमजोरी रहेको स्वीकारे ।संवैधानिक प्रावधानअनुसार मगरभाषाले कामकाजको मातृभाषाको रूपमा प्रयोग गर्न पाउने सम्भावना रहे पनि यसको व्याकरण, शब्दकोष र भाषिक ज्ञानको अभाव रहेको उनले बताए ।