अनादिवासी खस ! ~ सौरभ
पाटो पहिलो
काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा ।
यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा ‘क्याष्ट्रेसन’ शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए ‘अर्किष्टोमी’ बन्थ्यो होला, ‘भास डिफरेन्स’ अर्थात् शुक्रनलीबाट ‘भ्यासेक्टोमी’ बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए ।
र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्षिणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर(सुन्दरी) शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम(दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि), जसको स्थानीय सदरमुकाम पुराङ/बुराङ/ताक्लाखार हो । तोखारियन मूलको ताक्लाको अर्थ हो-मरुभूमिजन्य, समतुल्य नाम ताक्लामकानजस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो ।
किन्नौर र ङारीका विशाल भूभागमा चल्ल/मल्ल र उनका पूर्वजहरूको साम्राज्य जब थियो भने ती पनि कहलाउने नै भए खस । जसरी १७६९ भन्दा अघिको नेवार संस्कृति प्रचलित इलाकाहरूमा जो(जो थपिँदै र बसोबास गर्दै गए), ती पनि कहलाइँदै गए नेवार ।
यही काशीको अर्को रूप इस्लाम पुरोहित काजी हो । किनभने उसले खतनाको सञ्चालन गराउँछ । खतना सनातनधर्मीको व्रतबन्धजस्तै हो, जसमा हटाइन्छ, जननेन्दि्रयको टुप्पाको छाला (फोरसस्किन) । यसैबाट रूपान्तरण भएर बन्छ, पशुवध र मासुका व्यवसायीहरूको थर कसाब अर्थात् कसाही शब्दको पूर्वरूप, खत शब्दको उत्पत्ति पनि । इस्लाम राज्यमा धर्माधिकारीसरह काजीको महत्त्व हुने भए पनि ‘काजी अभिमान सिंह’ कस्तो विरूप अनुकरण हो, पाठकहरूले आफैंले बुझ्नुपर्ने कुरा हो । यद्यपि के सत्य हो भने नेवारहरूले काजी र खस दुवै शब्द क्षत्रीहरूकै निम्तिमात्र प्रयोग गर्छन्, बाहुनहरूका निम्ति होइन । यस अर्थमा बाहुनहरूले खसको अर्थ जति बुझेका छन्, नेवारहरूले अन्जानमै पनि धेरै सही र सटिक बुझेका छन् । कि हामी खस होइनौं भनेर कान्तिपुरमा लेख्ने ‘कौण्डिन्नयायन’ बन्धुहरूले बुझेका छन् । ‘कौडिन्नयायन’हरूले सहजै बुझ्ने कुरा होइन पनि यो ।
अर्थात् आज जसलाई खस भनिँदैछ, ती यथार्थमा खस होइनन् । खस संस्कृति भएको इलाकाका वासिन्दामात्र हुन् वा जो त्यस इलाकाबाट गुज्रँदै नेपाल आए । र जो खास खस हुन्, ती लिम्बु(राई लगायत विभिन्न जातजातिका काशी गोत्रभित्र पर्ने मानिसहरू हुन् ।
पाटो दोस्रो
मध्यएसियामा कजाखस्तान नाउँको देश छ । नभन्दै सँगैको रूसी भाषामा बाख्रीलाई कजा भनिन्छ र खसीलाई कास्त्रिरोवाली । जुन कास्त्री झट्ट सुन्दा खसी नै जस्तो लाग्छ । र नभन्दै कजाखस्तानमा एउटा जाति छ किरेत, अवश्य नै मङ्गोल मूलको हो । रेशम मार्गमा पर्ने यहीँबाट काशगरको त्यो चलनको ज्ञान युरोप पुग्यो ‘क्याष्ट्रेसन’मा रूपान्तरण हुनलाई, जसरी मार्कोपोलोको हातबाट चाउचाउ युरोप पुग्यो, स्पाघेट्टी (पानीरोटी) हुनलाई । यद्यपि चाउचाउको खास अर्थ चाउचाउ जातको कुकुरको त्यान्द्रे मासु हो । मार्कोपोलोको देश इटालीसँगैको गि्रसमा त बाख्रीलाई काशिका भनिन्छ नै ।
कजाखस्तान जोडिन्छ, पश्चिममा काशगरसहितको वर्तमान सिनकियाङसँग र पूर्वमा काशगरको संस्कृतिबाट प्रेरित नाम लिएको क्यास्पियन सागरसँग । विश्वको पाँचौं ठूलो राष्ट्र कजाखस्तानको स्टेपी (घाँसेमैदान) प्रख्यात छ, घोडचढीहरूले विशालकाय बाख्राबथानहरू चराउनका निम्ति । अर्थात् सम्भवतः बाख्रा र घोडालाई खसी र खच्चर बनाउने प्रथाको थालनी यही ठाउँबाट प्रेरित छ । दाङमा थारूहरूले कुखुरालाई खसी पारेर ‘बदिया भाले’ बनाउने चलन पूर्वमा किन छैन ? यहाँनिर विचारणीय छ ।
यी लेख्दै गर्दा पङ्क्तिकार जान्दछ, उसको ईमेलमा कतै नभएको ‘दुईवटा विद्यावारिधी’हरूले, मङ्गोलियामा घरलाई ओइरात भन्छन्, त्यसैबाट किरात शब्द बन्छ भन्दै फेरि पनि लेखिपठाउनेछन् । तर ओइरात जाति कजाखस्तानको सुदूर पश्चिममा छ ।
बाहिङखम्बु पनि एउटा हो, माझकिरातलाई चिनिने नामहरूमा । काशमिर छेउको काङ्गडामा ९९ किला भएको किरात सम्वरलाई हराइएको प्राचीन प्रसङ्ग छ । नभन्दै बाहिङ राईहरूमा तोलोचा थर हुन्छ र कशमिरको भ्यान्दर उपत्यकामा तोलोचा किरात बस्छन् पनि । गोपाल राजवंशावलीले पनि अरुण र तमोरबीचका (आजको अर्थमा राई) लाई मात्रै किरात तोकेको छ । उनीहरू रहेको ‘कोशी’ प्रदेश नाम समुद्रबाट सय मिटरको उचाइमा मात्र पाइने कुश (डेस्मोटास्या विपिनाटा) बाटै रह्यो भन्न गाह्रो छ । किनभने त्यो नेपालभित्रकै सय मिटरमा मात्रै पाइन्छ भन्ने होइन । यो एसिया र अपि|mकाका उष्ण र शीतोष्ण सबै इलाकामा पाइन्छ । यही कोशी भारतको उत्तरप्रदेशको जुन नदीमा मिसिन्छ, त्यो बगेर जाने किनारले पनि नाउँ पाउँछ,काशी ।
तामाङहरूको विवाहमा केटापक्षबाट सगुनस्वरूप पठाइने मदिराको विशेष नाम हो, कर्जेल पोङ । तर यो कर्जेल यथार्थमा कज्योल (बाख्रो) को मासु र पोङ (रक्सीको भाँडो) हो । यद्यपि आजका दिन मदिरामात्रै हो भन्ने बुझिन्छ । जसरी एक भुजेल केटा पहिलोपल्ट ससुराली जाँदा लठ्ठीमा सिउरेर जानुपर्ने वस्तु हो, सहर माछा (बार्बस पटिटोरा) र मूलापाते (एलिफान्टापस स्काबर), लोकजीवनको भियाग्रा, तर जाने गर्छन्, मूलाको पात सिउरेर । यसले पनि तामाङहरूलाई काशगरको संस्कृति अवशेष बोकेको ‘खस’ नै बनाउँछ ।
थकाली जाति भन्ने गरिन्छ । तर थकालीको शुद्ध रूप नेवारी भाषाको जेठोबाठो बोधक थकाली होइन । जो तराईबाट भित्रिएको ठाकुर शब्दको नेवारी रूपान्तरण थकुबाट बनेको हो । बरु थाकाली हो, थाकखोलाबाट बनेको, मार्फावासीलाई मार्फाली भनेजस्तै । त्यसभन्दा अघि थाक्से भनिन्थ्यो । यीभन्दा पनि पर उनीहरूकै देवी हुन्,नरिझ्योब, जसको शुद्ध रूप हो,ङरिझ्योब अर्थात् तिब्बतको ङारिकी देवी, जो पर्छ, प्राचीन खसान राज्यमा । यसरी थकालीहरू नै पनि कार्यकारणले खस हुन् । संस्कृतको पानीबोधक नारबाट नारायण बन्दछ र नेवारी अनेक भाषामा माछाबोधक र पानीबोधक ‘ङा’ यसैबाट आउँछ । भूपतीन्द्र मल्लकालीन भजनमा नेपालको ठाउँमा ङेपाल लेखिएकै छ पनि ।
ग्याङमी थर हुन्छ, मगरहरूमा पनि, जसलाई याक्खामा क्याङमी भनिन्छ, यसको अर्थ हो, चिनियाँ,यद्यपि यो सर्वनाम हो । गोरो र पातलो बोधकलाई नेवारीमा चिनियाँमान, नेपालीमा मुरली र खोस्तमा बेलायती भनेजस्तै । तर चीनमा प्रान्त छ, ग्याङसुदो, जो मङ्गोलियासँग जोडिन्छ पनि । अनि एउटा थर हुन्छ पुन, जो बोनको अपभ्रंश हो । यही बोनको रूपान्तरण हो, तामाङहरूको पवित्रतम कलश ‘भोम्बु’, अमि्रसो (थाइसानोलाइना मेक्सिमा) हालिने, जो दिशापखाला प्रतिरोधक रहेकाले पूज्य (ल्हाटुङ) भएको हो । अनि बोन धर्मको केन्द्र हो, ङारी प्रदेशभित्रकै कैलाश जसका आदिप्रवर्तक हुन्, दोर्जे शेराब । यसरी मूलतः बोन धर्मावलम्बी मगर र तामाङहरू फेरि पनि कार्यकारणले खस नै हुन् ।
नेपालभित्र लिम्बुको रट लगाइरहे पनि साङे भन्छन्, सिक्किम र भुटानका लिम्बुहरूले नेपालका लिम्बुलाई । अनि नेपालका लिम्बुले पनि उताका लिम्बुलाई साङे नै भन्छन् । यो साङ भनेको ताप्लेजुङपारिको तिब्बती भूभाग हो । यहीँबाट बग्ने नदीको नाम साङ्पो हो, जो आसाम छिरेपछि ब्रह्मपुत्र र बङ्गलादेश पुगेपछि मेघनाजस्ता नामहरू लिँदै बङ्गालको खाडीमा र्झछ । उनीहरूको काशी गोत्रको उल्लेख त माथि नै गरियो ।
पच्युँ र क्याबि्रका माध्यमबाट संस्कार चलाउने गुरुङहरू बोन भएपछि ती पनि कार्यकारणले खस त हुन् नै । त्यसभन्दा एक कदम बढेर तिनले आफ्नो बसोबासको थलो नै काशगरबाट प्रेरित रहेर कास्की (काशिकी) राखेको बुझिन्छ । भलै संस्कृतज्ञहरूले त्यसलाई कौशिकी र कश्यप (चिसाखोलाको सन्दर्भमा योगी नरहरिनाथ) सँग जोडिरहुन् । (यद्यपि कश्यप संहिताको ‘फाइटोज्योग्राफी’ चिसाखोलासँग ठयाम्मै मेल खान्छ ।)
पुछारमा
एउटा उदाहरण- खान्चाखान र मिचाखान पूर्वज रहेका यी शाहहरू मुसलमान हुन् भनेर पटक(पटक लेखिरहन पनि हाम्रा जातिवादीहरू कहिल्यै थाकेनन् । अरू किसिमले भन्न नसकेर त्यस हदसम्म खसाल्न उद्यत छन्- वामपन्थी खोल ओढेका जातिवादीहरू ।
तर तिनले बुझ्नुपर्ने कुरा के हो भने चङ्गेजखान वा कुब्लाइखान मुसलमान थिएनन् । मालिकबोधक तातार/मङ्गोलियन/टर्किस शब्द कानबाट खान बन्छ । जसरी त्यसैबाट संस्कृतको पतिबोधक कान्त र पत्नीबोधक कान्ता । यद्यपि यो आफैंमा राजाबोधक मङ्गोलियन शब्द हो । तिनको राज्यलाई भनिन्छ, खानेट । खानबाट तरवारबोधक खाँण शब्द पनि बन्छ, जुन कुनै बेलाको राजचिह्न पनि हो । जसरी उर्दूको तरवारबोधक शम्शीरबाट धीरशमशेरको मध्य नाम शमशेर, जसरी कोतपर्वकालमा मारिने भवानी सिंहको मराठीको तरवारबोधक भवानी, जसरी खड्गबोधक खड्का र खड्गी, जसरी चुपीबोधक बर्फोङबाट लेप्चा थर बाराफोङ । त्यस्तै बादशाहबोधक मङ्गोलियन शब्द खगानबाट नेपालीको तरवारको म्यानाबोधक खगाम । शुद्ध नाम खानचा खाँण हो राजा र तरवारबोधक, जङ्ग (युद्ध) बहादुर (वीर) भनेजस्तै । तर जातीय पूर्वाग्रह त मूर्ख हुन्छ नै । त्यसमा के आश्चर्य ?
दोस्रो उदाहरण- डोटी र बझाङका प्राचीन राज्य डुम्राकोट र उदुम्बरपुरीलाई इतिहासकारहरू पटक(पटक डुगरसिंहबाट बसाइएकाले डुङराकोट भएको हो भनिरहन्छन् । जबकि ऐतरेयब्राह्मणले पानैपिच्छेजस्तो भनिरहेको छ- त्यो क्षत्री क्षत्री होइन, जसले डुम्रीको दूध पिउँदैन । र नै ती डुम्राकोटहरू प्राचीन रजौटाहरूले डुम्री रोपेर पवित्रतम पारेका राज्यहरू हुन् भनेर स्पष्ट हुन्छ । तैपनि शैक्षिक पृष्ठभूमि नै संस्कृत भएकाहरूले समेत नभएको पात्र डुगरसिंहलाई खोज्ने प्रयास कायम छ । आफैं गुज्रेको बाटो डुङ्गाले चिन्दैन भने त्यसमा के आश्चर्य ?
तेस्रो उदाहरण- फलामे युगमा मात्रै आएर बन्छ घन । त्यसैले पाषाण युगमा बन्चरोको मात्र प्रयोग हुन्छ, घनको होइन । यति सर्वसुलभ ज्ञान नराख्नेले नर्वेको थोरले घन प्रयोग गर्थे बन्चरो होइन भन्नुमा के आश्चर्य ? सालको परागकणबाट फेब्रुअरी बन्दछ, वैदिक अगस्ति नक्षत्रका बेला पर्छ, मनसुन । त्यसैबाट अगष्ट आउँछ । मे र मार्च नै मास (महिना) बाट बन्छन् । तैपनि ग्रेगरीका सात महिना किन संस्कृतबाट बनेनन् भनेर सोधिन्छ भने ती बालसुलभ अज्ञानताहरूमा के आश्चर्य ?
(यहाँनिर पङ्क्तिकार फेरि पनि जान्दछ, नर्वेको नाम पर्नेबित्तिकै ‘हाम्रो आश उपन्यास सुपरमार्केटबाट किनेर पढिदेऊ’ भन्दै नर्वेजियन दूतावासले पङ्क्तिकारलाई ‘तिम्रो लेख पढेका छौं’ भन्ने प्रोक्सी ई-मेल पनि पठाउन छाड्दैन ।)
अन्तिम पाटो
विडम्बना के छ भने जाति, जनजातिका नाममा राजनीति गर्ने, देश भनेको आफ्नो पारिवारिक बपौतीजस्तो टुक्रा(टुक्रा बाँड्न मिल्छ ठान्ने वामपन्थी बुज्रुकहरू र आफूले आर्जन नगरेको राज्य माग्ने मगन्तेहरूले आदिवासी शब्दको परिभाषा के हो पहिला दिन सक्नुपर्छ ? युरोपियन युनियन नर्वे, स्वीडेन, डेनमार्क लगायत भ्याटिकन र प्रोटेस्टेन्टहरूले आफ्नो धर्मविस्तारका लागि दिएको परिभाषा एक नेपालीका लागि कदापि मञ्जुर छैन र हुँदैन पनि । खस को हो र को होइन भन्ने व्याख्या त एउटा रमाइलो पक्षमात्रै हो । यसै अन्तर्गत खाटी खसले खसलाई गालीका नाममा आकाशतिर फर्किएर थुकिरहन्छन्, तर त्यो आफ्नै अनुहारमा पटक पटक परिरहन्छ भने त्यसमा पनि के आश्चर्य ?
Courtesy https://khas-people.blogspot.com